हेटौंडाः मकवानपुरको क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यमा दिपेन्द्र चन्द ठकुरीले उम्मेदवारी घोषणा गर्नुभएको छ । शनिबार हेटौंडामा स्वतन्त्र नागरिक अभियान तथा उम्मेद्वारी घोषणा कार्यक्रममा उहाँले उम्मेद्वारी घोषणा गर्नुभएको हो ।
कार्यक्रममा बोल्नुहुँदै ठकुरीले भाषण कम काममा दम भनेर आफू जनताको काममा लागेको बाताउनु भयो । देशमा विकास हुन स्वास्थ्यको क्षेत्रमा विकास हुनु पर्ने बताउँदै उहाँले हेटौंडा अस्पतालको समस्यालाई लिएर तीन महिनासम्म आन्दोलनमा उत्रिएको र आन्दोलनबाट अस्पतालको केही समस्या समाधन भएको बताउनु भयो । देशमा प्रजातन्त्र आएपछि मन्त्री मात्र थपिएको उहाँले आरोप लगाउनुभयो । स्वतन्त्र नागरिकले शिक्षा, स्वास्थ र रोजगारीको अवसर सिर्जना गर्ने ठकुरीले दावी गर्नुभयो ।
कार्यक्रममा अर्का स्वतन्त्र उम्मेदवार वीरवंश वैठाले हेटौंडा आन्दोलनको सुरुवातको थलो भएको स्मरण गराउनुभयो । हालको गठबन्धनको सरकार सिन्डिकेट भएको र दलहरुबीच घुमाईफिराई राज्य चलाउने खालको तालमेल भएको वैठाको भनाइ छ । शिक्षण पेशाबाट राजिनामा दिएर वैठाले सर्लाहीबाट निर्वाचन उठ्ने घोषणा गरिसक्नुभएको छ ।
कार्यक्रममा बोल्दै सार्वजनिक सेवा सुधार संघर्ष समिति सदस्य रामशरण कार्कीले जिल्लामा स्वास्थ्य, शिक्षाको विषयमा सुधारका लागि आफू लागिपरेको बताउँदै देशमा २०४६ देखि हालसम्म सोचेको जस्तो परिवर्तन नभएको बताउनुभयो । हालको सरकारले विद्यालयमा पुस्तक पनि पुर्याउन नसकेको उल्लेख गर्नुहुँदै कार्कीले मकवानपुरका बुद्धिजीवीहरुले निर्वाचनमा जान सुझाव दिएकाले क्षेत्र नम्बर–१ मा दिपेन्द्र चन्द ठकुरीलाई उम्मेद्वार बनाउन खोजेको बताउनुभयो ।
