Home मुख्य समाचार युवा दिवसमा प्रभातफेरीः युवालाई अग्रजका ज्ञान लिएर जोश, जाँगरका साथ काम गर्न...

युवा दिवसमा प्रभातफेरीः युवालाई अग्रजका ज्ञान लिएर जोश, जाँगरका साथ काम गर्न आग्रह

हेटौंडाः बागमती प्रदेश युवा परिषद्को आयोजनामा शुक्रबार प्रदेशको राजधानी हेटौंडामा प्रभातफेरीको आयोजना गरिएको छ । ‘अन्तरपुस्ता ऐक्यबद्धता, सबै उमेर समूहमैत्री विश्व निर्माणमा साझा प्रतिबद्धता’ भन्ने मूल नाराका साथ २२ औं अन्तर्राष्ट्रिय युवा दिवस शुक्रबार मनाइएको छ ।

कार्यक्रममा सरोकारवाला संघ÷ संस्थाका प्रतिनिधि, राजनीतिक दलका युवा, विद्यार्थी संगठनका प्रमुख तथा प्रतिनिधिको सहभागिता रहेको थियो । हेटौंडा–४, हुप्रचौरस्थित परिषद्को कार्यालयबाट सुरु भएको प्रभातफेरी हेटौंडा बजार क्षेत्रको परिक्रमापछि पुनः कार्यालय परिसरमै पुगेर सभामा परिणत भएको थियो । सभालाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईले युवा पुस्ताले अग्रजको ज्ञान लिएर युवा जोश र जाँगरका साथ समाज परिवर्तनमा लाग्नुपर्ने बताउनुभयो । युवा पुस्ताले अग्रजको ज्ञान लिएर भावी पुस्तालाई सुन्दर समाज निर्माण गर्नुपर्ने आवश्यकता रहेको कार्यकारी उपाध्यक्ष चौलागाईको भनाइ थियो ।

युवा पुस्ताले राज्यलाई सहयोग गर्नुपर्ने बताउनुहुँदै कार्यकारी उपाध्यक्ष चौलागाईले राज्यले युवाका लागि उल्लेख्य र उदाहरणीय योजना बनाए पनि ती योजना युवा पुस्तासम्म पुग्न नसकेको बताउनुभयो । प्रदेश युवा परिषद् राज्यका नीति, कार्यक्रमलाई युवा पुस्तासम्म पु¥याउनकै लागि स्थापित भएको कार्यकारी उपाध्यक्ष चौलागाईको दावी थियो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बागमती प्रदेश सरकारको युवा तथा खेलकूद मन्त्री रत्न प्रसाद ढकालको अध्यक्षतामा १०१ सदस्यीय मूल समारोह समिति बनाएर सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । साउन २६ गतेदेखि सुरु भएको सप्ताहव्यापी कार्यक्रम साउन ३० गते ‘युवाको प्रश्न म युवा तथा खेलकूद मन्त्रीको उत्तर’ शीर्षकमा अन्तरक्रियाको आयोजना गरी समापन गरिने कार्यकारी उपाध्यक्ष चौलागाईले जानकारी दिनुभयो ।

Exit mobile version