हेटौंडाः बागमती प्रदेश प्रहरी कार्यालयको प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नुभएकी प्रहरी नायव महानिरीक्षक (डीआईजी) किरण बज्राचार्यले विद्यार्थी वर्गलाई प्रहरीको भूमिका र शान्ति, सुरक्षाका विषयमा जानकारी गराउने उद्देश्यले प्रहरी शिक्षकको अवधारणा कार्यान्वयन गरिने बताउनुभएको छ ।
प्रदेश प्रहरी प्रमुखको रुपमा जिम्मेवारी सम्हाल्नुभएपछि बिहीबार पत्रकारहरुसँग कुरा गर्नुहुँदै डीआईजी बज्राचार्यले विद्यालयका शिक्षकहरुलाई नै प्रशिक्षक प्रशिक्षण कार्यक्रम सञ्चालन गरी प्रहरी शिक्षकको रुपमा विद्यार्थीलाई प्रहरीको भूमिका र शान्ति, सुरक्षाको विषयमा अभिमुखीकरणको कार्य गरिने बताउनुभयो । प्रहरीको आचरण र व्यवहारका आधारमा मातहतका प्रहरीलाई पुरस्कार र सजायको व्यवस्था गर्ने उल्लेख गर्नुहुँदै डीआईजी बज्राचार्यले मानिस हराएको भन्ने विवरण उल्लेख्य रहेकोले प्रहरी परिचालन गरेर मानिस हराएको भनी प्राप्त निवेदकहरुको विवरण पुनः खोजी गरिने बताउनुभयो ।
कुनै पनि घटनामा प्रहरी तत्कालै पुग्न प्रहरीको सेवाक्षेत्रको पुनः नक्सांकन गरिने उहाँको भनाइ थियो । प्रदेश प्रहरी कार्यालयले महत्वपूर्ण घटनालाई विश्लेषण गरी गहन अनुसन्धान अघि बढाउने योजना बनाएको पनि डीआईजी बज्राचार्यले बताउनुभयो । प्रहरीको क्षमता विकास र स्रोत व्यवस्थापनमा पनि ध्यान दिने उहाँले स्पष्ट पार्नुभयो । प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दीपक रेग्मीले आर्थिक वर्ष २०७८/७९ को प्रगतिप्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँले आत्महत्याका घटनालाई न्यूनीकरण गर्न आवश्यक रहेको औँल्याउनुभयो ।
