Home मुख्य समाचार विकास र विनियोजन

विकास र विनियोजन

सरकारहरुले प्रत्येक आर्थिक वर्षका लागि योजना र कार्यक्रम पूरा गर्न बजेट विनियोजन गर्दछन् । औपचारिकरुपमा नेपालमा वार्षिकरुपमा बजेट विनियोजन हुन थालेको आठ दशक लागेको छ । विकासलाई निश्चित ढाँचामा सञ्चालन गर्नेदेखि आर्थिक पारदर्शिता पूरा गर्ने उद्देश्यले बजेट बनाउने गरिन्छ । प्रत्येक वर्ष स्थानीयदेखि केन्द्रीय सरकारहरुले बजेटको आकार बढाएका हुन्छन् । जनसंख्याको वृद्धि तथा नागरिकलाई दिइने सेवा सुविधाको विस्तारका लागि बजेट वृद्धि हुन आवश्यक पनि छ । तर विनियोजित रकमले उद्देश्य पूरा गरेको छ त भन्ने प्रश्न अहम् बन्दै आएको छ । प्रत्येक वर्ष बेरुजु बढेको छ भने विकास खर्चको प्रतिशत घट्दो अवस्थामा छ । तैपनि बजेटको आकार बढेको हुन्छ ।

कार्यक्रम र बजेट वृद्धि नै विकासको सूचक हुन सक्दैन । नीति तथा कार्यक्रमले लिएको लक्ष्य पूरा गर्न बजेट विनियोजनभन्दा पनि विनियोजित रकमको उचित र सहीरुपमा कार्यान्वयन हो । तर नेपाली अर्थव्यवस्थामा दशकौंदेखिको समस्या भनेकै कार्यान्वयन पक्ष नै हो । अध्ययन बिना नै योजनाहरु बनाउने र बजेट छुट्याउँदा कार्यान्वयनमा समस्या हुँदै आएको छ । आर्थिक विकासको पक्षबाट भन्दा पनि राजनीतिकरुपमा बजेटलाई प्रयोग गरिँदै आएको छ । सम्भावना नै नभएका ठाउँमा समेत विकासका आश्वासन दिने राजनीतिक नेतृत्वले बजेट पनि छुट्याइदिएको भन्दै जस लिने होडमा कार्यक्रम र बजेट विनियोजन हुने गरेको छ । हचुवाका भरमा कार्यक्रम राख्ने र बजेट विनियोजन गर्दा पुँजीगत खर्च कम हुने गरेको छ ।

चालु आर्थिक वर्षका लागि संघ, प्रदेश र स्थानीय तहले बजेट घोषणा गरिसकेका छन् । समग्रमा महत्वाकांक्षी योजना बनाएका छन् भने त्यसलाई पूरा गर्न रकमको व्यवस्था गरिएको छ । घाटा बजेट नै किन नहोस्, सस्तो लोकप्रियताका लागि भए पनि बजेटको आकार बढाउने र खर्चका क्षेत्रहरु वृद्धि गर्ने गरिन्छ । यसवर्ष पनि परम्परा कायम नै देखिन्छ । मकवानपुर जिल्लामा रहेका १० वटै स्थानीय तहले चालु आर्थिक वर्षको बजेट गाउँसभा तथा नगरसभाबाट पारित गरेको छ । जिल्लामा रहेको एउटा उपमहानगरपालिका, एउटा नगरपालिका र ८ वटा गाउँपालिकाले चालु आर्थिक वर्षका लागि कूल ८ अर्ब ८२ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको हो ।

मकवानपुर जिल्लाको स्थानीय तहमध्ये सबैभन्दा धेरै बजेट हेटौंडा उपमहानगरपालिकाले विनियोजन गरेको छ भने सबैभन्दा कम बजेट ईन्द्रसरोवर गाउँपालिकाले विनियोजन गरेको छ । हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि कूल २ अर्ब ७१ करोड ७९ लाख रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । थाहा नगरपालिकाले १ अर्ब १० करोड ८७ लाख ३० हजार, भीमफेदी गाउँपालिकाले ५९ करोड ९५ लाख, बागमती गाउँपालिकाले ६३ करोड १९ लाख, मनहरीले ९१ करोड ८ लाख छुट्याएको छ भने ईन्द्रसरोवर गाउँपालिकाले ४२ करोड ६३ लाख विनियोजन गरेको छ । मकवानपुरगढीले ४७ करोड ७७ लाख ६७ हजार, कैलाशले ५१ करोड १५ लाख, बकैयाले ८१ करोड २७ लाख ४६ हजार छुट्याएको छ । छुट्याइएको अंक निकै आकर्षक नै हो । सही सदुपयोग गर्ने र कार्यान्वयन हुन सकेमा जिल्लाको विकासले नयाँ फड्को मार्नेछ । तर विगतले भविश्य देखाइरहेको छ ।

Exit mobile version