हेटौंडाः ठूलो परिमाणमा लागूऔषध नाईट्रोभेट, विनरेक्ससहित २ जनालाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुमोेचालक बारा जिल्ला कलैया उपमहानगरपालिका–१३, बलिरामपुर बस्ने २७ वर्षीय सन्तोष साह कलवार र धनुषा जिल्ला महेन्द्रनगर नगरपालिका–२ सखुवा घर भई हाल हेटौंडा–४ स्थित मुन्ना साईकल स्टोरका संचालक ३७ वर्षीय मुन्ना भन्ने अमन प्रसाद जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानाएको छ ।
शनिबार विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा–१५, रातोमाटेस्थित प्रहरी चेकपोष्टमा सुरक्ष जाँच गर्ने क्रममा बीरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना १ ज २३९६ नम्बरको सुमोमा लागुऔषध बरामद भएको हो । सुमोको बिचको सिटमुनी सेतो बोरा भित्र लुकाई छिपाई ल्याएको अवस्थामा लागूऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
सुमोबाट नाईट्राभेट १ हजार ५ सय ट्यावलेट र विनरेक्स एक सय एमएलको २ सय ४० बोतल बरामद भएको प्रहरीले जनाएको छ । लागूऔषधसहित कलवारलाई प्रहरीले सोधपुछ गर्दा जैसवालले मगाएको भनी बताएका थिए । कलवारलाई साथमा लिई बताइएको स्थानमा जाँदा जैसवाल उभिरहेको अवस्थामा फेला पारी लागूऔषध, टाटासुमो, कलवार र जैसवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।
