हेटौंडाः हेटौंडा उपमहानगरपालिका क्षेत्रका सामुदायिक विद्यालयमा प्रथम त्रैमासिक परीक्षा भदौ अन्तिम साता हुने भएको छ । नगरस्तरीय शैक्षिक समन्वय समितिले शुक्रबार प्रधानाध्यापकको भेला गरी त्रैमासिक परीक्षासम्बन्धी निर्णय गरेको हो । अझै पनि पाठ्यपुस्तक पूर्णरुपमा उपलब्ध नभएका कारण प्रथम त्रैमासिक परीक्षा ढिलो गरी गर्ने निर्णय गरेको हो ।
‘शैक्षिक क्यालेण्डरमा भदौ ५ गतेदेखि प्रथम त्रैमासिक परीक्षा लिने भनिएको छ । तर, सबै विद्यालयका सबै विद्यार्थीले अहिलेसम्म पाठ्यपुस्तक पाइनसकेको भन्ने बुझिएको छ’, नगरस्तरीय शैक्षिक समन्वय समितिका अध्यक्ष सागरप्रसाद खतिवडाले भन्नुभयो, ‘विद्यार्थीलाई पाठ्यपुस्तक नै नदिई कसरी परीक्षा लिनु ?’ शैक्षिक क्यालेण्डरअनुसार परीक्षा लिनका लागि प्रथम त्रैमासिक अवधिमा पढाइ हुनुपर्ने पाठ्यक्रम पनि पूरा हुन नसकेको उहाँको भनाइ छ ।
नगरस्तरीय शैक्षिक समन्वय समितिद्वारा निर्मित वार्षिक पाठ योजनालाई बुकलेटका रुपमा तयार गरी सबै विद्यालयमा उपलब्ध गराउने साथै सोही योजना अनुसार पठनपाठन गर्ने, समितिको भेला भदौ महिनामा गर्ने र शैक्षिक समन्वय समितिले परीक्षा सन्चालनका लागि लिँदै आएको शुल्कलाई समयानुकल परिमार्जन गर्न २५ प्रतिशत बढाउने निर्णय गरेको अध्यक्ष खतिवडाले जानकारी दिनुभएको छ । हेटौंडा उपमहानगर क्षेत्रमा ७६ वटा सामुदायिक विद्यालय छन् । नगरस्तरीय शैक्षिक समन्वय समितिमा सबै विद्यालय आवद्ध छैनन् । नगरका सबै विद्यालयलाई समन्वय समितिमा सहभागी गराएर परीक्षा, पठनपाठन तथा अन्य आवश्यक क्रियाकलापमा पनि एकरुपता ल्याउनुपर्ने आवश्यकता औँल्याउने गरिएको छ ।
