Home मुख्य समाचार आर्थिक ऐन जवाफदेही छःअर्थमन्त्री जमकट्टेल

आर्थिक ऐन जवाफदेही छःअर्थमन्त्री जमकट्टेल

हेटौंडाः आर्थिक मामिला तथा योजना मन्त्री शालिक राम जमकट्टेलले प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक माथि उठेका प्रश्नको जवाफ दिँदै आर्थिक ऐन राम्रो, व्यवस्थित र जवाफदेही बनेको स्पष्ट पार्नुभएको छ । उहाँले प्रदेश सभा सदस्यहरुलाई राम्रोसँग अध्ययन गर्न समेत आग्रह गर्नुभएको छ ।

बागमती प्रदेशको बिहीबार बसेको तेस्रो बैठकमा जवाफ दिँदै उहाँले ण्प्रदेश सरकारले आफ्नो कार्यक्षेत्र भित्र भएको राजश्व संकलन यथावत राख्ने, घटाउने, बढाउने र नयाँ आम्दानीको स्रोत राख्न यो विधेयक आउने जानकारी गराउनुभयो । प्रदेशको कानून सचिवसहित बसेर धेरै ध्यान दिएर आर्थिक ऐन निर्माण गरिएको बताउनुभयो । उहाँले यातायात, घर जग्गा रजिष्टेशन सम्बन्धी करमा कुनै पविर्तन नगरेको स्पष्ट पार्नुभयो । कृषि कर अहिलेसम्म प्रदेशमा नउठेको भन्दै उहाँले अर्को सूचना आएपछि मात्र लागु हुने भनेर ऐनमा स्पष्ट लेखिएको जानकारी दिनुभयो । मालपोतको अवस्था सुधार गर्न गम्भिरता पूर्वक लिएको उहाँले बताउनुभयो । सरकारले उठाउने राजश्व सरकारको संचित कोषमा आउने भन्दै उहाँले कुन क्षेत्रमा कति कर उठ्छ भन्ने स्पष्ट रुपमा हेर्न सकिने बताउनुभयो । सिमेन्टको कर संविधानले दिएको क्षेत्राधिकार भित्र नभएको स्पष्ट पार्दै उहाँले संविधानभन्दा विपरित गएर उठाइने कर सबै खारेज गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्रदेश आर्थिक ऐन २०७९ चित्त बुझ्दो बनाएको जानकारी दिनुभयो ।

Exit mobile version