हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारमा अहिले करिब १ हजार कैदीबन्दी तथा थुनुवाले सजाय काटिरहेका छन् । सोमबारसम्ममा कारागारमा ९ सय ४७ कैदीबन्दी तथा थुनुवाले सजाय काटिरहेको कारागार प्रमुख मदन लामा थिङले जानकारी दिनुभयो ।
सजाय काटिरहेकामध्ये सबैभन्दा बढी लागूऔषध मुद्दाका रहेका छन् । सोमबारसम्ममा २ सय ९७ जना कैदीबन्दी तथा थुनुवाले लागूऔषध मुद्दामा सजाय काटिरहेका छन् । जबरजस्ती करणी मुद्दामा २ सय ८७ जना कैदीबन्दी तथा थुनुवाले उक्त कारागारमा सजाय काटिरहेका छन् । यस्तै, कर्तव्य ज्यान मुद्दामा १ सय ६५ जना, चोरी मुद्दामा ४१ जना र सवारी ज्यान मुद्दामा २५ जना कैदीबन्दी तथा थुनुवाले सजाय काटिरहेका छन् । चालु आर्थिक वर्षको साउनदेखि जेठसम्म कारागारमा नयाँ ४ सय १९ जना कैदी कारागार चलान भएका छन् भने ५ सय ३३ जना कारागारमुक्त र अन्य ठाउँमा सारिएका छन् ।
कारागारमा रहेकामध्ये अधिकांश नेपाली नागरिक नै रहेका छन् । विभिन्न मुद्दामा सोमबारसम्म २ सय ३१ जना थुनुवा र ६ सय ५७ नेपाली कैदीबन्दीले सजाय काटिरहेका छन् । यस्तै ११ जना थुनुवा र ४८ भारतीय कैदीबन्दीले सजाय काटिरहेका छन् । कारागारमा सजाय काटिरहेका कैदीबन्दी तथा थुनुवाहरु सबै पुरुष रहेको कारागार प्रमुख थिङले बताउनुभयो । कारागारको सुरक्षा अहिले नेपाली सेनाले गर्दै आएको छ ।
