Home मुख्य समाचार जेठ महिनामा ४२२ युनिट रगत संकलन

जेठ महिनामा ४२२ युनिट रगत संकलन

रक्तदान गर्दै रक्तदाता । फाइल तस्वीर ।

हेटौंडाः रक्तसञ्चार केन्द्र हेटौंडाले जेठ महिनामा ४ सय २२ युनिट रगत संकलन गरेको छ । विभिन्न संघ, संस्थाको आयोजनामा हुने रक्तदान कार्यक्रममा रक्तसञ्चार केन्द्रले प्राविधिक सहयोग गर्नुका साथै संकलित रगत मागअनुसार वितरण पनि गर्दै आएको छ ।

जेठ महिनामा विभिन्न १४ वटा संघ, संस्थाले रक्तदान कार्यक्रम गरेको रक्तसञ्चार केन्द्र हेटौंडाका प्राविधिक विष्णु प्रसाद रिमालले बताउनुभयो । रक्तदान कार्यक्रमबाहेक पनि रक्तसञ्चार केन्द्र हेटौंडाले रगतको मागअनुसार आकस्मिक अवस्थामा रक्तदान गर्ने सूचिमा रहेका रक्तदातालाई बोलाएर रगत संकलन गर्ने गरेको छ ।

स्वस्थ मान्छेले तीन महिनाको अन्तरमा रक्तदान गर्न सक्नेछ । १८ वर्ष पूरा भई ६० वर्ष ननाघेका र कम्तीमा ४५ केजी तौल भएका व्यक्तिले रक्तदान गर्न सक्ने प्राविधिक रिमाल बताउनुहुन्छ । मलेरिया, क्षयरोग, यौनरोग जस्ता स्वास्थ्य समस्या भएका व्यक्तिको रगत संकलन नगरिने उहाँले जानकारी दिनुभयो । महिलाहरुको हकमा गर्भवती भएको समय र महिनावारीको समयमा रक्तदान गर्नुहुँदैन ।

Exit mobile version