हेटौंडाः ‘माटो जोगाउ’ अभियान समुहले हेटौंडामा माटो जोगाउ कार्यक्रम गरेको छ । त्रिभुवन विश्वविद्यालयका व्यवस्थापन विभाग प्रमुख रामजी गौतमको अध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले सबैले माटोको संरक्षण गनुपर्ने बताउनुभयो । माटो रहेमा भुगोलमा मात्र रहने तर यस भुगोलमा रहने जीव जनावर, वस्तुहरुको रहन नसक्ने उहाँले बताउनुभयो । अब विश्वमा माटोको स्थिति बिग्रँदै गएकोले विस्तारै खाद्य संकट आउनसक्ने र त्यसका लागि विश्वयुद्ध हुन सक्ने उहाँको भनाई छ ।
मुख्यमन्त्री पाण्डेले किसानलाई रासायनिक मलको प्रयोग गरेर उत्पादन गर्नैपर्ने स्थितिलाई हेरेर प्रदेश सरकारले मल कारखाना निर्माण गर्ने तयारी रहेको बताउनुभयो । यदि कसैले गड्यौला मल उत्पादन गरेको छ भने प्रदेश सरकारले ५ करोड रुपैयाँसम्मको मल किन्ने उहाँले बताउनुभयो । वातावरणलाई जोगाउन रुख, बिरुवा रोप्नुपर्ने उहाँले बताउनुभयो । ‘माटो जोगाउ’ अभियान सबैको अभियान भएकाले अभियानलाई आवश्यक सहयोग, सुझाव र समन्वय गर्न प्रदेश सरकार सधै तयार रहको उहाँले बताउनुभयो ।
‘माटो जोगाउ’ अभियानका अभियन्ता नवीन पुन मगरले मानवका विभिन्न क्रियाकलापले अहिले माटो बिग्रँदै गएको बताउनुभयो । माटो बिग्रँदा भविष्यमा जीवको अस्तित्व नै नरहने पुनले बताउनुभयो । विश्वका धेरै जमिनहरु मरुभुमिकरण हुँदै गएको र खाद्यवस्तु उत्पादन हुन नसक्ने पुनको भनाइ छ । माटोको संरक्षण गर्न जनचेतनाका कार्यक्रमहरु सबै तहले सञ्चालन गर्नुपर्ने मगरले बताउनुभयो । मगर अहिले ‘माटो जोगाउ’ अभियानलाई लिएर २ सय किलोमिटर दूरी पार गर्दै शनिबार हेटौंडामा आइपुग्नु भएको हो । हेटौंडामा प्राज्ञिक विद्यार्थी परिषद्ले अभियानलाई सहजीकरण गरेको छ ।
कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवाल, हेटौंडा उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, मकवानपुर जिल्ला साईकिलिङ संघका अध्यक्ष संगीत श्रेष्ठको आतिथ्य रहेको थियो ।
