Home मुख्य समाचार कोरोना विरुद्धको अभियानका लागि उपमहानगरको विपद् जोखिम न्यूनीकरण कोषमा ७५ लाख रुपैयाँ

कोरोना विरुद्धको अभियानका लागि उपमहानगरको विपद् जोखिम न्यूनीकरण कोषमा ७५ लाख रुपैयाँ

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाले कोरोना भाइरसविरुद्धको अभियानका लागि विपद् व्यवस्थापन कोषमा भएको रकम खर्चने भएको छ । उपमहानगरपालिकाले छुट्टै कोष नबनाई विपद् जोखिम कोषबाटै काम गर्ने भएको हो । यस्तै उपमहानगरपालिकाले सार्वजनिक रुपमा सहयोगको याचना नगर्ने र विपद् जोखिम न्यूनीकरण कोषबाट अपुग भए उपमहानगरपालिकाकै बजेटबाट आवश्यक खर्च गर्ने बताइएको छ ।
हेटौंडा उपमहानगरपालिकाको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन गर्न बनेको ऐन २०७५ अन्तर्गत गठन गरेको विपद् व्यवस्थापन कोषमा ७५ लाख रुपैयाँ बजेट रहेको हेटौंडा उपमहानगरपालिकाका सूचना अधिकृत भानुभक्त थपलियाले जानकारी दिनुभएको छ । चालु आर्थिक वर्षमा उपमहानगरपालिकाले कोषमा ७५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । चालु आर्थिक वर्षका लागि विपद् व्यवस्थापन कोषमा विनियोजन गरिएको बजेट अपुग भए उपमहानगरकै कोषबाट आवश्यक खर्च गरिने हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले जानकारी दिनुभयो । कोरोना विरुद्ध आवश्यक कार्य गर्न प्रदेश सरकारले दिने भनिएको १५ लाख रुपैयाँ पनि उपमहानगरपालिकाको विपद् व्यवस्थापन कोषमै राखेर आवश्यक कार्य गरिने मेयर महतले स्पष्ट पार्नुभयो । विपद्का बेला सबैक्षेत्र र व्यक्ति प्रभावित भइरहेको र उपमहानगरसँग बजेट हुँदाहुँदै सहयोगको याचना उपयुक्त नहुने भन्दै उपमहानगरपालिकाले आफ्नै कोषबाट विपद्को बेला काम गर्ने निर्णय भएको मेयर महतले बताउनुभयो ।

Exit mobile version