हेटौंडाः मकवानपुरको ईन्द्रसरोवर गाउँपालिकामा नवनिर्वाचित गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र वडा सदस्यहरुलाई निर्वाचन अधिकृतले प्रमाणपत्र वितरण गरेको छ । सोमबार अन्तिम नतीजा सार्वजनिक गरेको निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बिहान विजयी प्रमाणपत्र वितरण गरेको हो ।

निर्वाचन अधिकृत मुरारी वस्तीले नवनिर्वाचित गाउँपालिका अध्यक्ष देवकृष्ण (डीके) पुडासैनी, उपाध्यक्ष उमा लामासहित वडा अध्यक्ष र वडा सदस्यहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको हो । स्थानीय सरकारको व्यवस्थापिका गठन भएको र अब कार्यपालिका गठन गरेर निर्वाचन अधिकृतको कार्यालयले आफ्नो जिम्मेवारी पूरा गर्ने निर्वाचन अधिकृत वस्तीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यपालिकामा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष र वडा अध्यक्षहरु स्वतः सदस्य हुने व्यवस्था छ । निर्वाचित वडा सदस्यहरु मध्येबाट ४ जना महिला कार्यपालिका सदस्यमा चयन हुनेछन् । यस्तै अल्पसंख्यक र दलित समुदायबाट दुईजना मनोनित गरेपछि कार्यपालिकाको संरचना पूर्ण हुनेछ ।
निर्वाचित भएको प्रमाणपत्र ग्रहणपछि गाउँपालिकाका अध्यक्ष पुडासैनीले योजना बनाएर गाउँपालिकाको कामको सुरुवात गर्ने बताउनुुभयो । गुणस्तरीय शिक्षा र स्वास्थ्यको सुनिश्चितता गर्दै पालिकाका हरेक घरमा शुद्ध खानेपानीको धारा जडान गर्ने, पालिकामा भ्रष्टाचार शून्य, सुशासनको प्रत्याभूत गराउने अध्यक्ष पुडासैनीले बताउनुभयो । ईन्द्रसरोवरलाई आकर्षक पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने विकसित गर्ने पनि उहाँले बताउनुभयो ।
५ वटा वडा रहेको ईन्द्रसरोवर गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्य गरी २७ जना निर्वाचित भएका छन् । ईन्द्रसरोवर गाउँपालिकामा १२ हजार ७ सय ९१ मतदाता मध्ये ८ हजार ५ सय ५८ जनाले मतदान गरेका थिए ।