Home मुख्य समाचार बालश्रम अन्त्यको लागी नागरिक समाजबाट सरकारलाई प्रतिवेदन हस्तान्तरण

बालश्रम अन्त्यको लागी नागरिक समाजबाट सरकारलाई प्रतिवेदन हस्तान्तरण

नागरिक समाजबाट तयार पारिएको प्रतिबेदन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव दिपक काफ्लेलाई हस्तान्तरण गर्दै ।

हेटौंडाः बालश्रम सम्बन्धी मे १५ देखि २० तारिखसम्म आयोजना हुने पाँचौं विश्वव्यापी सम्मेलनमा नेपालबाट पनि बालश्रम र बालबालिका विरुद्धको हिंसाको विषयमा नागरिक समाजबाट तयार पारिएको प्रतिवेदन सरकारलाई हस्तान्तरण गरिएको छ । राष्ट्रिय कार्य तथा समन्वय समूह (एनएसीजी) नेपाल, राष्ट्रिय बाल संरक्षण सञ्जाल (एनसीपीए), बल्र्ड भिजन ईन्टरनेशनल नेपाल र आईएलओको संयुक्त आयोजनामा दक्षिण अफ्रिकाको डर्बनमा हुने सम्मेलनका लागि नागरिक समाजबाट तयार पारिएको प्रतिबेदन श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सहसचिव दिपक काफ्लेलाई बुझाइएको हो ।

राष्ट्रिय कार्य तथा समन्वय समूह नेपालका अध्यक्ष बेनुमाया गुरुङ र राष्ट्रिय बाल संरक्षण सञ्जालका अध्यक्ष प्रकाश खतिवडाले संयुक्त रुपमा काफ्लेलाई प्रतिवेदन हस्तान्तरण गर्नु भएको थियो । प्रतिबेदन बुझ्नु हुँदै काफ्लले नेपालमा बालश्रमको बारेमा विश्व सम्मेलनमा आवाज उठाउनुका साथै आवश्यक प्रतिवद्धता गरिने जानकारी गराउनुभयो । संघ र प्रदेश स्तरमा बालश्रमको अवस्थाको विश्लेषण गर्दै सातै प्रदेशका नागरिक समाजका प्रतिनिधिहरुको सल्लाहसुझावहरु लिई श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग दोहोरो संवाद गरी नागरिक समाजबाट तयार पारिएको प्रतिवेदन सरकारलाई हस्तान्तरण गरिएको अध्यक्ष प्रकाश खतिवडाले जानकारी दिनुभयो । कार्यक्रममा सहभागीहरुलाई स्वागत तथा कार्यक्रमको औचित्य माथि अध्यक्ष खतिवडाले स्पष्ट पार्नु भएको थियो । कार्यक्रममा राष्ट्रिय बाल संरक्षण सञ्जालका निवर्तमान अध्यक्ष ऋतु भट्टराईले संघीय र प्रदेशका नागरिक समाजबाट आएको सुझाव सहितको प्रतिवेदन प्रस्तुतीकरण गर्नु भएको थियो । नागरिक समाजको तर्फबाट बालश्रमको अवस्था र आगामी कार्यदिशा सम्वन्धी सरकारको ध्यानाकर्षण गराएको थियो ।

कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट श्रम मन्त्रालयको सल्लाहकार केशब बस्याल, उपसचिब गुरुदत्त सुवेदी र कृष्णप्रसाद शर्मा, शाखा अधिकृत सुरेश घिमिरे, ८.७ एलायन्सका नुतन शर्माको उपस्थिति रहेको थियो । यस्तै नागरिक समाजको तर्फबाट राष्ट्रिय कार्य तथा समन्वय समूह नेपालका उपाध्यक्ष किरण थापा, पूर्वअध्यक्षहरु रबिन नेपाली र कृष्णचन्द्र आचार्य, राष्ट्रिय बाल संरक्षण सञ्जाल उपाध्यक्ष अनिता पाण्डे, विकासका साझेदार संस्था बल्र्ड भिजन ईन्टरनेशनल नेपालका दिलिप राज गिरी र आईएलओका प्रतिनिधी नारायण भट्टराईको उपस्थिति रहेको थियो ।

Exit mobile version