हेटौंडाः सञ्चारिका समुह मकवानपुरको आयोजनामा मकवानपुरका महिला पत्रकारहरुलाई निर्वाचन लक्षित अभिमुखीकरण गरिएको छ । आइतबार मकवानपुरका प्रमुख निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठको प्रमुख आतिथ्य तथा सञ्चारिका समुह मकवानपुरकी अध्यक्ष सम्झना रिजालको सभाध्यक्षतामा अभिमुखीकरण भएको हो ।
कार्यक्रममा मकवानपुरका वरिष्ठ पत्रकार प्रताप बिष्ट र निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले सहजीकरण गर्नु भएको थियो । अभिमुखीकरणमा पत्रकार बिष्टले पत्रकारहरुले निर्वाचनसम्बन्धी समाचार लेख्दा तटस्थरुपमा र आचारसंहिताको पालनामा ध्यान दिनुपर्ने बताउनु भयो । पत्रकारहरुले गोप्यरुपमा मतदान गर्नुपर्ने र दोहोरो भूमिका निर्वाह गर्न नहुने विष्टको भनाइ थियो । निर्वाचन अधिकृत श्रेष्ठले पत्रकारहरुले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताका बारेमा जानकारी दिनुभयो ।
प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा बालिक मताधिकार प्रयोग गर्ने गरी आवधिक निर्वाचनको आवश्यकतालाई औँल्याउनुहुँदै मुख्य निर्वाचन अधिकृत श्रेष्ठले शान्ति, सुशासन र विकासको आकाङ्क्षा पूरा गर्न पनि निर्वाचन जरुरी रहेको बताउनुभयो । निर्वाचनमा स्वच्छता, भयमुक्त वातावरण कायम गर्नुपर्ने मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताउनुभयो ।
