Home मुख्य समाचार कांग्रेसलाई बागी उम्मेदवारको चिन्ता

कांग्रेसलाई बागी उम्मेदवारको चिन्ता

तस्बिर गुगल

हेटौंडाः गठबन्धन दलबीच तालमेल मिलाउने धुनमा नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा मकवानपुरमा ठूलो मूल्य चुकाउनुपर्ने खतरा देखिएको छ । वडा तहदेखि नै आकांक्षीबीच समन्वय गरेर उपयुक्त उम्मेदवार उठाउने र प्रतिस्पर्धी दलविरुद्ध रणनीति बनाउनुपर्ने कांग्रेसलाई उम्मेदवारी दर्ताको दिन एउटै वडामा २ जनासम्म बागी उम्मेदवार खडा भएर चिन्ता बढाएको छ ।

उम्मेदवारी दर्ता गर्नुपर्ने अन्तिम दिनको बिहान मात्रै उपमेयरको उम्मेदवार टुंग्याएको कांग्रेसले हेटौैंडा उपमहानगरको २ नम्बर वडामा विष्णुगोपाल महर्जन उम्मेदवार बन्दै गर्दा अन्य आकांक्षीहरु रविन्द्र घिमिरे र सुदीप राजवाहक बागी उम्मेदवार बनेका छन् । नेपाली कांग्रेसबाट २०७४ सालको निर्वाचनमा २ नम्बर वडा सदस्यमा विजयी हुनुभएका सुदीप राजवाहकले आसन्न स्थानीय तहको निर्वाचनमा स्वतन्त्ररुपमा वडा अध्यक्षको उम्मेदवारी दर्ता गराउनुभएको हो । सोमबार निर्वाचन अधिकृतको कार्यालय पुगेर राजबाहकले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराउनुभयो ।

२०७४ सालको निर्वाचनमा २ नम्बर वडामा नेपाली कांग्रेसबाट राजबाहक एक्लो सदस्यको रुपमा विजयी हुनुभएको थियो । पार्टीले टिकट नदिए पनि आफू स्वतन्त्र रुपमा वडा अध्यक्षको उम्मेदवार बनेको राजबाहकको भनाइ छ । यता उम्मेदवारी दर्तापछि महर्जनले वडा अध्यक्षमा विजयी भएर वडालाई नमूना वडाको रुपमा विकास गर्ने योजना रहेको बताउनुभयो । पार्टीभित्र धेरै आकांक्षी भए पनि पार्टीले विश्वास गरेको बताउनुहुँदै पार्टी र जनता दुबैको मन जित्ने गरी काम गर्ने महर्जनको भनाइ छ । यता १६ नम्बर वडामा पनि कांग्रेसको बागी उम्मेदवारको रुपमा निराजन दाहालले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

Exit mobile version