Home मुख्य समाचार यौन दुव्र्यवहारको आरोप

यौन दुव्र्यवहारको आरोप

तीन जना शिक्षकविरुद्ध छात्राहरुले लगाएको यौन दुव्र्यवहारको आरोप यतिबेला रष्ट्रिय चर्चाको विषय बनेको छ । एउटै विद्यालयका छात्राहरुले आफ्नै तीन जना शिक्षकमाथि यति गम्भीर आरोप लगाउनु सामान्य घटना होइन । घटना सार्वजनिक भएपछि उजुरी पर्नु र नपर्नुको अर्थ नै हुँदैन । तर प्रहरी प्रशासनले भने किटानी उजुरी नपरेको दावी गरेको छ । तर यो मुद्धा सरकारवादी हुने भएकाले घटना सार्वजनिक हुनु वा पीडितले सार्वजनिक गर्नु नै पर्याप्त हुनसक्छ । हालैमात्र सार्वजनिक भएको एम्नेष्टिको वर्ष पुस्तकले पनि महिला हिंसाका घटना वृद्धि भएको उल्लेख गरेको छ । यौन दुव्र्यवहारका लागि मकवानपुर अघिल्लो पंक्तिमा देखिएको छ । सार्वजनिक भएको घटनाले त जिल्लाबासी सबैले लज्जाबोध गर्नुपर्ने अवस्था श्रृजना भएको छ ।

मकवानपुरको बागमती गाउँपालिकाको फापरबारीमा रहेको जनता माध्यमिक विद्यालयका ३ जना शिक्षकविरुद्व यौन दुव्र्यवहारको आरोप लागेपछि राष्ट्रिय सञ्चार माध्यमको समेत ध्यान आकर्षित भएको छ । डेढ सातादेखि कक्षा ४ देखि ८ सम्मका विद्यार्थीले ३ जना शिक्षकविरुद्व यौन दुव्र्यवहारको आरोप लगाएको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ । प्रहरीमा तत्काल जाहेरी नपारेकाले इलाका प्रहरी कार्यालय फापरबारीका अनुसार विद्यालय प्रशासनले नै उक्त घटनामा छानविन गर्ने जनाएको छ । विद्यालय आफैंले छानविन गर्ने विषय अत्यन्त गम्भीर छ । यौन दुव्र्यवहारका घटनालाई आपसी मेलमिलाप गराउने प्रयास भइरहेको आशंका गराएको छ । आफ्नै शिक्षकविरुद्ध विद्यार्थीहरुको उजुरी मकवानपुरमा मात्र पहिलो हैन । तर एकै पटक तीनजना विरुद्धको घटना पहिलो नै हो ।

दुव्र्यवहारको घटना कसरी भयो भन्ने यकिन हुन आवश्यक छ । तीन जना शिक्षकहरुमाथि आरोप लाग्नु सामान्य विषय हुन सक्दैन । यौन दुव्र्यवहारका विषयमा शिक्षा दिने शिक्षकहरुबाट यस्तो घटना हुनुले नेपाली समाज कता जाँदैछ भन्ने अहम् प्रश्न खडा भएको छ । अनुशासनको शिक्षा दिने शिक्षक नै दुव्र्यवहार गर्दछन् भने समाजका अन्य सदस्यहरुबाट के अपेक्षा राख्ने ? नेपाली समाजमा नैतिक चरित्र प्रश्न उठ्ने अवस्था श्रृजना भएको छ । शिक्षक र विद्यार्थीको सम्बन्ध अभिभावक र बालबालिकाको हो । तर अभिभावकबाटै यौन हिंसा हुन्छ भने नेपाली बालिकाहरु कहाँ र कोबाट सुरक्षित हुने ? अपराध भएको छ, त्यसबाट पीडितहरुलाई न्याय दिने काम पनि ढिलासुस्ती हुन्छ भने दवावको विकल्प पनि हुँदैन ।

घटनाको निश्पक्ष छानविन हुन आवश्यक छ । तीन जना शिक्षकहरुमाथि छात्राहरुको आरोप पुष्टि हुने आधारको खोजी हुनुपर्दछ । व्यक्तिगत रिसइवीले पनि लाञ्छित गर्ने सम्भावनातर्फ पनि छानविन गरिनु आवश्यक छ । महिलाका पक्षमा कानुन बलियो छ भन्दैमा जहिले पनि पुरुषको मात्र दोष हुन्छ भन्न सकिँदैन भन्ने पक्षबाट पनि अध्ययन हुनु जरुरी छ । तर छात्राहरुले आफ्नो इज्जतमाथिको खेलबाडलाई बिना आधार सार्वजनिक गर्ने कुरा हुँदैन । लामो समयदेखि बालिकाहरुमाथि अन्याय हुँदै आएको तर सामाजिक मर्यादा र शिक्षक विद्यार्थीको सम्वन्धका कारणले पनि बालिकाहरुले घटनालाई लुकाउँदै आएको हुनसक्छ । तर जब घटना सार्वजनिक भएको छ, तब दोषीहरुले उम्मुक्ति पाउनु हुँदैन ।

Exit mobile version