Home मुख्य समाचार प्रदेशको खर्च निराशाजनक

प्रदेशको खर्च निराशाजनक

एकात्मक शासन व्यवस्थाले देशका सबै क्षेत्रमा सन्तुलित विकास गर्न नसकेको भन्दै लागू गरिएको संघीय शासन व्यवस्थामा पनि विकास निर्माणका कामले गति लिन सकेको छैन । संघीय शासन प्रणालीअनुसार देशलाई ७ वटा प्रदेशमा विभाजन गरेर विकासलाई प्रतिस्पर्धात्मक बनाउने भनिए पनि प्रदेश सरकारहरुले विकास बजेटमात्र नभई साधारण खर्चसमेत बढाउन सकेका छैनन् । बागमती प्रदेश सरकारको बजेट खर्चको अवस्था हेर्दा प्रदेशको संरचनाले पनि आशातित विकास गर्न नसक्ने सम्भावना देखिएको छ । चार वर्ष अघिबाट कार्यान्वयनमा आएको प्रदेश संरचनाको बजेट खर्चको अवस्था वर्षेनी निराशाजनक बनिरहेको छ । विगतका वर्षहरुमा भन्दा चालु आर्थिक वर्षमा बागमती प्रदेश सरकारले विनियोजित बजेटको निकै न्यून रकममात्र खर्च गरेको छ ।

बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा कुल बजेटको १५ प्रतिशतमात्रै खर्च गर्न सकेको छ । प्रदेशको कुल विनियोजित ५७ अर्ब ७२ करोड बजेटमध्ये ६ महिनामा झण्डै ८ अर्ब ७५ करोड अर्थात् १५ दशमलब १५ प्रतिशतमात्र बजेट खर्च भएको छ । खर्च भएको बजेटमध्ये विकास (पुँजीगत) खर्चको अवस्था झनै कमजोर देखिएको छ । प्रदेश सरकारले गरेको कुल खर्र्चमध्ये चालुतर्फ ५ अर्ब २ करोड अर्थात् विनियोजित बजेटको १९ दशमलव ३० प्रतिशत खर्च गर्दा पुँजीगततर्फ ३ अर्ब २ करोड अर्थात् विनियोजित बजेटको १० दशमलव १८ प्रतिशतमात्र खर्च भएको छ । प्रदेश सरकारले चालु आर्थिक वर्षमा ३१ अर्ब ६९ करोड राजश्व उठाउने लक्ष्य राखेकोमा पहिलो ६ महिनामा १३ अर्ब ५७ करोड संकलन गरेको छ, जुन वार्षिक अनुमानको ४२ दशमलव ८१ प्रतिशत रहेको छ । प्रदेश सरकारको राजश्व आम्दानी भने गत वर्षको सोही अवधिको भन्दा रकम र प्रतिशत दुबै वृद्धि भएको छ ।

चालु आर्थिक वर्षको ६ महिनामा बागमती प्रदेश सरकारले विनियोजित बजेटको करिब १५ प्रतिशतमात्र खर्च गर्दा बाँकी ६ महिनामा ८५ प्रतिशत बजेट खर्च गर्न पक्कै सम्भव छैन । ६ महिनामा ५० प्रतिशतको हाराहारीमा खर्च हुनुपर्ने साधारण खर्चसमेत २० प्रतिशतभन्दा कम हुनुले प्रदेश सरकारको कार्यक्षमता कमजोर सिद्ध गर्दछ । आधा वर्षमा पुँजीगत खर्च १० प्रतिशतमा सिमित हुँदा प्रदेश सरकारले अघि सारेका अधिकांश विकास निर्माणका आयोजनाहरु अपूरै हुने निश्चित भएको छ । बागमती प्रदेशका वर्तमान मुख्यमन्त्री राजेन्द्र पाण्डेले प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउन भन्दै ८ वटा मन्त्रालयलाई फुटाएर १४ वटा बनाउँदै डेढ दर्जन मन्त्री नियुक्त गरिए पनि प्रदेशको विनियोजित बजेट खर्च गर्न नसक्नुले सरकारकै कार्यक्षमता कमजोर देखिएको छ । मन्त्रालयको संख्या वृद्धि गरेर आलोचित भएका मुख्यमन्त्री पाण्डे नेतृत्वको सरकारले बजेट कार्यान्वयन गर्न नसक्ने हो भने मन्त्रालय फुटाएको औचित्य पुष्टि नहुने निश्चित छ ।

एकात्मक शासन व्यवस्थामा विकासका लागि केन्द्रसँग भर पर्नुपर्ने भन्दै संघीय व्यवस्था लागू गरिए पनि प्रदेश सरकारको बजेट कार्यान्वयनको अवस्था निराशाजनक देखिनुले संघीयताको औचित्यमाथि प्रश्न उठ्न थालेको छ । प्रदेश सरकार निर्माण भएको ४ वर्ष नाघिसकेकाले अब पनि बजेट कार्यान्वयन नहुनुको दोष प्रदेशको संरचना, कानुन, कर्मचारीको अभावलाई दिनु उचित हुँदैन । प्रदेश सरकारलाई प्रभावकारी बनाउनै भनेर मन्त्रालय र मन्त्रीको संख्या वृद्धि गरिँदा पनि बजेट खर्च उल्लेख्य हुन नसक्नुले सरकारको कमजोरी पुष्टि गर्दछ । समयमै बजेट खर्च गर्न नसक्ने र आर्थिक वर्षको अन्त्यतिर जथाभावी बजेट खर्च गरेर असारे विकासको क्रमलाई प्रदेश सरकारले पनि निरन्तरता दिने हो भने संघीयताको औचित्य समाप्त हुनेतर्फ प्रदेश सरकार गम्भीर बन्नु आवश्यक छ ।

Exit mobile version