Home खेलकुद अन्तर्राष्ट्रिय क्रिकेटर राम नरेश गिरी नेतृत्वमा मकवानपुरमा एकेडेमी

अन्तर्राष्ट्रिय क्रिकेटर राम नरेश गिरी नेतृत्वमा मकवानपुरमा एकेडेमी

क्रिकेट एकेडेमी उद्घाटनको अवसरमा अन्तर्राष्ट्रिय क्रिकेटर राम नरेश गिरीलाई मिठाई खुवाएर बधाई दिनुहुँदै नेपाल क्रिकेट संघको केन्द्रीय समिति सदस्य करण महत्रा ।

हेटौंडाः क्रिकेट खेलका अन्तर्राष्ट्रिय खेलाडी मकवानपुरका राम नरेश गिरीको नेतृत्वमा मकवानपुरमा क्रिकेट एकेडेमी स्थापना भएको छ । मंगलबार एक कार्यक्रमका बीच राम नरेश गिरीको अध्यक्षतामा गठन गरिएको मकवानपुर क्रिकेट एकेडेमीको उद्घाटन गरिएको छ ।

नेपाल क्रिकेट संघको केन्द्रीय समिति सदस्य करण महत्राले मंगलबार हेटौंडा–४, हुप्रचौरमा एकेडेमीको उद्घाटन गर्नुभयो । राष्ट्रिय टिममा मकवानपुरका खेलाडीको सहभागिता बढाउन क्रिकेटका सिनियर खेलाडीको सहभागितामा एकेडेमी स्थापना गरिएको गिरीको भनाइ छ । विशेषगरी उमेर समूहका खेलाडी तयार पार्नुपर्ने औँल्याउनुहुँदै गिरीले भन्नुभयो, ‘उमेर समूहको राष्ट्रिय टिममा मकवानपुरका खेलाडी चयन हुन नसकेको धेरै भइसक्यो । उमेर समूहको राष्ट्रिय टिममा मकवानपुरको खेलाडीको सहभागिता बढाउनकै लागि पनि हामीले एकेडेमी स्थापना र सञ्चालन गर्ने निर्णय गरेका छौं ।’ जिल्ला, प्रदेश हुँदै राष्ट्रिय प्रतियोतिगाका लागि राम्रा खेलाडी उत्पादन गर्न एकेडेमीको स्थापना महत्वपूर्ण हुने गिरीले बताउनुभयो ।

क्रिकेट एकेडेमी उद्घाटनमा आफ्नो योजना बताउनुहुँदै राम नरेश गिरी ।

एकेडेमीमा अहिले नयाँ र पुराना गरी २५ जना खेलाडी आवद्ध भइसकेको एकेडेमीका सचिव प्रेम क्षेत्रीले जानकारी दिनुभयो । एकेडेमीले हेटौंडाको हुप्रचौरमा दैनिकरुपमा बिहान र दिउँसो प्रशिक्षण सञ्चालन गर्ने बताइएको छ । बिहान र दिउँसो २ घण्टाका दरले प्रशिक्षण गराउने सचिव क्षेत्रीले बताउनुभयो । अहिले पुरुष खेलाडीलाई मात्रै प्रशिक्षण दिन सुरु गरेको एकेडेमीले छिट्टै महिला खेलाडीलाई पनि प्रशिक्षण सञ्चालन गर्ने बताइएको छ ।

नेपाल क्रिकेट संघको केन्द्रीय समिति सदस्य करण महत्रा व्याटिङ गरेर एकेडेमीको उद्घाटन गर्नुहुँदै ।

एकेडेमीलाई व्यावसायिक बनाएर नयाँ खेलाडी उत्पादनमा ध्यान दिन नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य महत्राले बताउनुभयो । मकवानपुर क्रिकेट एकेडेमीको उपाध्यक्षमा सुरेन्द्र अधिकारी, सचिवमा प्रेम क्षेत्री, कोषाध्यक्षमा रविन गुरुङ रहनुभएको छ । यस्तै सदस्यमा विनोद लामिछाने, मनोज खड्का, विवेक दाहाल, अमित राई र सन्देश ढकाल चयन हुनुभएको छ । एकेडेमी उद्घाटन कार्यक्रममा मकवानपुर जिल्ला क्रिकेट संघका अध्यक्ष बासुलाल श्रेष्ठ, मकवानपुर जिल्ला खेलकुद विकास समितिका पूर्वउपाध्यक्ष दिपेन्द्र ढकालको पनि उपस्थिति रहेको थियो ।

Exit mobile version