गुगल तस्बिर ।

हेटौंडाः मकवानपुर जिल्लाको ४ वटा स्थानीय तहका विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु भएको छ । आइतबारदेखि बागमती गाउँपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मकवानपुरगढी गाउँपालिकाका विद्यालयहरुमा पढाइ सुरु भएको हो ।

हेटौंडा उपमहानगरपालिका, राक्सिराङ गाउँपालिका र कैलाश गाउँपालिकाका विद्यालयहरु आगामी आइतबारबाट सञ्चालनमा आउने भएका छन् । तर, मनहरी गाउँपालिका, ईन्द्रसरोवर गाउँपालिका र बकैया गाउँपालिका गरी तीनवटा स्थानीय तहमा भने कहिलेदेखि विद्यालयमा भौतिक उपस्थितिमा पठनपाठन सुरु गर्ने निर्णय भएको छैन ।

बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले गत आइतबारबाट नै विद्यालयहरुमा पढाइ सुरु भएको बताउनुभयो । पालिकाका ५० वटा विद्यालयमा स्वास्थ्य मापदण्ड पालना गरी भौतिक उपस्थितिमा नै पढाइ भइरहेको जानकारी अध्यक्ष घलानले दिनुभएको छ ।

यसैगरी मकवानपुरगढी गाउँपालिकाका शिक्षा अधिकृत रामबहादुर घलानले २० गतेबाट नै भौतिक उपस्थितिमा पढाइ सुरु गरिसकेको जानकारी दिनुभयो । जिल्ला प्रशासन कार्यालय मकवानपुरले आदेश गरेको स्मार्ट निषेधाज्ञाको पालना गरी गाउँपालिकाका ४० वटा विद्यालयमा पठनपाठन सुरु भइरहेको अधिकृत घलानले बताउनुभयो ।

विद्यालय सञ्चालन गरिए पनि सबै विद्यार्थी उपस्थिति नभएको उहाँले जानकारी दिनुभयो । पालिकामा करिब ७ हजार विद्यार्थी रहेपनि अझै ५० प्रतिशत विद्यार्थी उपस्थित नभएको शिक्षा अधिकृत घलानले बताउनुभयो । आगामी आइतबादेखि विद्यार्थी उपस्थिति करिब ८० प्रतिशत पुग्ने अनुमान गरिएको उहाँले बताउनुभयो । गाउँपालिकाका १० वटा विद्यालयले विद्यार्थी संख्याको आधारमा सिफ्टवाइज विद्यालय सञ्चालन गरेका छन् । अन्य विद्यालयमा विद्यार्थीको संख्या कम भएकाले १० बजेदेखि ४ बजेसम्म पठनपाठन सञ्चालन गरिएको घलानले बताउनुभयो ।

विद्यालय व्यवस्थापन समिति, अभिभावक, जनप्रतिनिधि र शिक्षा समितिको छलफलपश्चात् विद्यालयहरुलाई पठनपाठन गर्न आदेश दिएको शिक्षा अधिकृत घलानले बताउनुभयो । विद्यालयले कार्यढाँचा निर्माण गरेर पूर्णरुपमा आचारसंहिताको पालना हुनेगरी पढाइ सुरु भएको उहाँले बताउनुभयो ।
भीमफेदी गाउँपालिकाका शैक्षिक सुपरीवेक्षक गोविन्दप्रसाद चौलागाईंले पालिकाका ४९ वटा विद्यालयले २० गते आइतबारबाट नै पढाइ सुरु गरेको बताउनुभयो । ४ हजार २ सय विद्यार्थी भए पनि आधा विद्यार्थीमात्र उपस्थित हुन सकेको उहाँले जानकारी दिनुभयो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र मकवानपुरले जिल्लामा स्थानीय तहको स्वीकृतिमा विद्यालयमा पठनपाठन सुचारु गर्नसक्ने निर्णय गरेपछि पढाइ सुरु भएको छ । अन्य स्थानीय तहको तुलनामा जोखिम बढी रहेको हेटौंडा उपमहानगरपालिकाले पनि विद्यार्थीको भौतिक उपस्थितिमा २७ गतेदेखि पठनपाठन सुरु गर्ने तयारी गरेको छ । १० स्थानीय तहलाई कोरोना संक्रमण जोखिमका आधारमा ४ क्षेत्रमा विभाजन गरी विद्यालय सञ्चालन गर्न सुझाव दिइएको थियो ।