हेटौंडाः कोरोना भाइरस संक्रमणको दर बढ्दै गएको जनाउँदै जिल्ला प्रशासन कार्यालयले मकवानपुर जिल्लामा साउन मसान्तसम्म निषेधाज्ञा जारी रहने आदेश जारी गरेको छ । शनिबार मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एक आदेश जारी गर्दै निषेधाज्ञा साउन ३२ गतेसम्म जारी रहने उल्लेख गरेको छ । संक्रमण दर बढ्दै गएको उल्लेख गर्दै बजार खुल्ने समयमा भने कटौति गर्ने आदेश पनि प्रशासनले जारी गरेको छ ।
यसअघि जारी गरिएको आदेशले निषेधाज्ञा साउन २४ आइतबार राती १२ बजेसम्म निषेधाज्ञा कायम हुने अवस्था थियो । संक्रमण दर बढ्दो क्रममा रहेको उल्लेख गर्दै अत्यावश्यक उपभोग्य वस्तु विक्री गर्ने पसलहरु बिहान ५ बजेदेखि १० बजेसम्म खोल्न पाउने आदेश गरेको छ । यस्तै गैरखाद्य वस्तुका पसलहरु दिउँसो १२ बजेदेखि ४ बजेसम्म मात्रै खोल्न पाउने आदेश स्थानीय प्रशासनले गरेको छ । यसअघि गैरखाद्य वस्तुका पसलहरु दिउँसो १२ बजेदेखि साँझ ६ बजेसम्म खुला गर्न पाउने आदेश जारी गरिएको थियो ।
रेष्टुरेन्ट तथा मिठाई, खाजा पसलहरु पनि दिउँसो १२ बजेदेखि ४ बजेसम्म मात्रै खोल्न पाउने भएका छन् । खाद्य तथा गैरखाद्य पसलहरु खुल्ने समयमा पनि स्वास्थ्यका मापदण्ड पालना गराउन प्रशासनको आदेशमा उल्लेख छ । यातायातमा जोरविजोर प्रणाली लागु गर्ने आदेश पनि स्थानीय प्रशासनले गरेको छ । पूर्वनिर्धारित परीक्षाको विषयमा स्थानीय प्रशासनले आदेश जारी गरेको छ ।
२५ जनाभन्दा बढी परीक्षार्थी भेला नहुने गरी परीक्षा सञ्चालन गर्न उल्लेख गरिएको आदेशमा २५ जना भन्दा बढी परीक्षार्थी भए एकभन्दा बढी सिफ्टको व्यवस्था गरी सञ्चालन गर्न भनिएको छ । सामाजिक संघ, संस्थाहरु, निजी क्षेत्र र नागरिक समाजको समन्वयमा मास्क अभियान नियमित रुपमा सञ्चालन गरिने पनि आदेशमा उल्लेख छ ।
