Home मुख्य समाचार बागमती प्रदेशका अपाङ्गता व्यक्तिहरुलाई आर्थिक तथा सामाजिक रुपमा सशक्त बनाइने

बागमती प्रदेशका अपाङ्गता व्यक्तिहरुलाई आर्थिक तथा सामाजिक रुपमा सशक्त बनाइने

हेटौंडाः बागमती प्रदेशको सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले अपाङ्गता भएका व्यक्तिको सीप विकास गर्दै आर्थिक तथा सामाजिक रुपमा सक्षम बनाउन आवश्यक भएको बताउनुभएको छ । यसका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको मन्त्री बस्नेतले बताउनुभयो ।

बुधबार अपाङ्गता भएका व्यक्तिहरुलाई अपाङ्गता सहायता सामग्री वितरण गर्दै मन्त्री बस्नेतले अपाङ्गता भएका व्यक्तिहरुले पनि सिप र क्षमता अनुसारको आर्थिक क्रियाकलाप गर्न सक्ने वातावरण बनाइदिनुपर्ने भन्दै त्यसका लागि आवश्यक कार्यक्रमहरु आगामी बजेटमा समेत राखेको बताउनुभयो ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा भएको अपाङ्ग सहायता सामग्री वितरण कार्यक्रमका मन्त्रालयले राष्ट्रिय अपाङग कोषसँगको साझेदारीमा १० लाख रुपैयाँ बराबरको अपाङ्ग सहायता सामग्री वितरण गरेको छ ।

सहभागीहरुले परिवारमा अपाङ्गता भएको व्यक्तिलाई सबलाङ्ग व्यक्तिलाई भन्दा फरक व्यवहार गर्ने गरेको तथा घरभित्रै राख्ने गर्दा उनीहरु पछाडि पर्ने गरेको बताएका थिए । ४९ जना विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिलाई सेतो छडी, ह्वील चेयर, कृतिम खुट्टा, वाकर लगायतका सामग्रीहरु वितरण गरिएको हो ।

प्रदेशका एकसय जनालाई सहायता सामग्री वितरण गरिने कार्यक्रम रहेकाले अन्यलाई प्रत्येक जिल्लामै उपलब्ध गराउने मन्त्रालयले जनाएको छ । राष्ट्रिय अपाङग महासंघको समन्वयमा भएको कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव यज्ञप्रसाद ढुङ्गेल, राष्ट्रिय अपाङ्ग कोषका सभापति रमेश लामा लगायतको उपस्थिति रहेको थियो ।