हेटौंडाः हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले बाल प्रतिभा पहिचान कार्यक्रम गर्ने भएको छ । चालु आर्थिक वर्षको वार्षिक कार्यक्रमअनुसार हेटौंडा उपमहानगर भित्रका संस्थागत तथा सामुदायिक विद्यालयका विद्यार्थीहरुबीच बाल प्रतिभा पहिचान कार्यक्रम हुने भएको हो ।
बाल प्रतिभा पहिचानका लागि विभिन्न विधाहरुमा प्रतियोगिता सञ्चालन गरिने हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । कोरोना भाइरस संक्रमणको जोखिमका कारण सबै प्रतियोगिताहरु भर्चुअल माध्यमबाट गरिने भएकाले विद्यार्थीहरु सहभागी गराउन विद्यालयहरुलाई हेटौंडा उपमहानगरपालिकाले अनुरोध गरेको छ ।
बाल प्रतिभा पहिचानअन्तर्गत् हेटौंडा उपमहानगरपालिकाभित्रका विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीका लागि अलगअलग विधामा प्रतियोगिता गरिने हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाका शिक्षा अधिकृत रामचन्द्र खड्काले बताउनुभयो । तहगतरुपमा निबन्ध तथा वक्तृत्वकलासँगै कविता, गायन र चित्रकला गरी ९ वटा प्रतियोगिता सञ्चालन गरिने अधिकृत खड्काले जानकारी दिनुभयो ।
आधारभूत तहमा अध्ययन गरिरहेका कक्षा १ देखि ५ सम्मका विद्यार्थीका लागि दुईवटा विधामा प्रतियोगिता सञ्चालन हुनेछन् । कक्षा ५ सम्म अध्ययनरत विद्यार्थीले मेरो विद्यालय शीर्षकमा चित्रकला तथा बालगीत गायन प्रतियोगितामा सहभागी हुनसक्ने अधिकृत खड्काले जानकारी दिनुभयो ।
आधारभूूत तह कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरुबीच चित्रकला तथा बालगीत गायन गरी दुईवटा प्रतियोगिता हुनेछ । मेरो विद्यालय शीर्षकमा हुने चित्रकला प्रतियोगीतामा सहभागी विद्यार्थीले बनाएको चित्र विद्यालयहरुले स्क्यान गरेर प्रमाणित गरी इमेलमा पठाउनुपर्ने शिक्षा अधिकृत खड्काले जानकारी दिनुभएको छ । बालगीत प्रतियोगिता भने जुममार्फत् भर्चुअल हुनेछ । यी दुबै प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
आधारभूत तहकै कक्षा ६ देखि ८ सम्मका विद्यार्थीहरुबीच निबन्ध, वक्तृत्वकला तथा कविता प्रतियोगिता हुनेछ । विद्यालय शिक्षामा सूचना प्रविधिको महत्व विषयमा विद्यार्थीको हस्तलिखित निबन्धलाई विद्यालयले इमेलमार्फत् पठाउनुपर्ने जनाइएको छ । निबन्धकै शीर्षकमा हुने वक्तृत्वकला तथा विद्यार्थी वा शिक्षासँग सम्बन्धित कविता प्रतियोगिता भने जुमको माध्यमबाट भर्चुअलरुपमा सञ्चालन गरिने बताइएको छ । आधारभूत तहका तीनवटै प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
माध्यमिक तहअन्तर्गत् कक्षा ९ र १० तथा कक्षा ११ र १२ का विद्यार्थीबीच अलग–अलग निबन्ध र वक्तृत्वकला प्रतियोगिता हुनेछ । कक्षा ९ र १० का विद्यार्थीबीच हुने निबन्ध र वक्तृत्व दुुबै विधाका प्रतियोगिताका लागि कोभिड १९ ले विद्यालय शिक्षामा परेको असर शीर्षक राखिएको हेटौंडा उपमहानगरपालिकाका शिक्षा अधिकृत खड्काले बताउनुुभयो । कक्षा ११ र १२ का विद्यार्थीबीच हुने निबन्ध र वक्तृत्वकला दुुबै प्रतियोगिताका लागि भने हालको अवस्थामा वैकल्पिक शिक्षण सिकाई विधिको महत्व शीर्षक निर्धारण गरिएको उहाँले जानकारी दिनुुभयो ।
माध्यमिक तहका विद्यार्थीबीच हुने निबन्ध प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुनेले क्रमशः ७ हजार, ५ हजार, ३ हजार र १ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । माध्यमिक तहको वक्तृत्वकला प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय तथा सान्त्वना हुने विद्यार्थीले भने क्रमशः १० हजार, ७ हजार, ५ हजार र ३ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगितामा समावेश गरिने निबन्ध तथा चित्रसहितको सहभागी विवरण तथा वक्तृत्वकला, बालगीत गायन र कविता प्रतियोगिताका सहभागीहरुको नामावली सम्बन्धित विद्यालयले असार ७ गते सोमबारसम्म हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाको इमेलबाट पठाइसक्नुपर्ने शिक्षा अधिकृत खड्काले बताउनुुभयो ।