Home मुख्य समाचार संक्रमित बढे उपचारमा अक्सिजन अभाव, निषेधाज्ञा लम्बिँदा जीविकोपार्जनमा कठिनाई

संक्रमित बढे उपचारमा अक्सिजन अभाव, निषेधाज्ञा लम्बिँदा जीविकोपार्जनमा कठिनाई

हेटौंडाः मकवानपुरमा निषेधाज्ञा अगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि लम्बिएको छ । यसअघि जिल्लाका चारवटा स्थानीय तहमा लागू भएको निषेधाज्ञा अहिले सबै १० वटै स्थानीय तहमा लगाइएको छ ।

धेरै नेपालीहरु गरिबीको रेखामुनि रहेका कारण नयाँ प्रकारको कोरोना भइरस संक्रमण बढेसँगै भएको निषेधाज्ञाले धेरैलाई पिरोलेको छ । दैनिक ज्यालादारी गरेर परिवार पालिरहेका तथा हुँदाखाने वर्गका नेपालीलाई दैनिकी चलाउन समस्या भइरहेको छ ।

कोरोना भाइरस संक्रमित बढ्दै जाँदा उपचारका लागि अक्सिजन अभावको अवस्था सृजना भइरहेको छ । अझै संक्रमित बढेमा अस्पतालमा बेड नपाउनुका साथै अक्सिजन अभाव हुने अवस्था गाउँ शहर जताततै छ । निषेधाज्ञा बढ्दै जाँदा शहरमा मात्र नभई गाउँघरमा पनि मानिसलाई हातमुख जोड्न समस्या हुने निश्चित छ ।

पछिल्लो समय मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका तथा मनहरी गाउँपालिकामा कोरोना संक्रमितको संख्या अन्य पालिकाको भन्दा धेरै छन् । मनहरी गाउँपालिकामा गत शनिबारसम्म एक सय ३१ जना संक्रमित भएका छन् । संक्रमितमध्ये तीन जनाले ज्यान गुमाएको मनहरी गाउँपालिकाका सिनियर अहेव ज्योतिराज लुईंटेलले जानकारी दिनुभयो ।

मनहरी गाउँपालिकाले कोभिड अस्पतालको व्यवस्थापन गरेर बिरामीलाई सेवा दिइरहेको छ । अस्पतालमा हाल ४ वटा अक्सिजन कन्सन्ट्रेटरसहित आवश्यक अक्सिजन सिलिण्डरको व्यवस्था गरिएको सिनियर अहेव लुईंटेलले बताउनुभयो । अस्पातलको क्षमताअनुसार बिरामी रहेको र आवश्यक अक्सिजन मौज्दात रहेकोले तत्काल अक्सिजन अभाव हुने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

मनहरी गाउँपालिकाको मुख्य बजार क्षेत्रहरुमा मास्कको प्रयोग अनिवार्य गरिएको र निषेधाज्ञामा कडाई गरिएको छ । संक्रमण दर थप बढ्दै गयो भने उपचारमा अक्सिजनको अभाव हुने लुईंटेलले बताउनुभयो ।
अहिलेसम्म कोही पनि गाउँपालिकाको कार्यालयमा राहत चाहियो वा खाना पाइएन भनेर नआएको मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । निषेधाज्ञा अझै थपिँदै गएमा भोकमरीको सम्भावना हुने र त्यस अवस्थामा राहतका लागि प्रदेश सरकार र संघीय सरकारसँग समन्वय गरिने अध्यक्ष उप्रेतीले बताउनुभयो ।

बढ्दो कोरोना भाइरस संक्रमणको जोखिम बढ्न नदिन राक्सिराङ गाउँपालिकाले पनि विभिन्न रणनीतिहरु बनाई कार्य गरिरहेको छ । गाउँपालिकामा विपन्न वर्ग, ज्याला मजदुरी र खेती किसान गरी खानेहरु लगभग ७० प्रतिशतभन्दा धेरै रहेका छन् । मानिसले काम गर्न नपाउँदा गाउँपालिकामा खाद्यान्नलगायतको अभाव देखिने सम्भावना रहेको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिनुभयो । हेटौंडा, चितवन, काठमाडौंलगायत अन्य ठाउँमा गई ज्यालादारी तथा मजदुरी गर्ने परिवारका सदस्य बढि भएकाले उनीहरु गाउँमा आउँदा खाद्यान्नको अभाव हुने उहाँले बताउनुभयो ।

अहिलेसम्म कोही पनि खाद्यान्न अभाव भयो भनेर नआएको भए पनि केही दिनमा समस्या देखापर्ने उहाँले बताउनुभयो । गाउँपालिकाले तत्काल राहत उपलब्ध गराउन नसकिने पनि अध्यक्ष मल्लले बताउनुभयो । भएका बजेटहरु खर्च गरिसकेको र एकदमै न्यून रकम बाँकी रहेकाले राहतको व्यवस्थापन गर्न नसकिने उहाँले बताउनुभयो । यसका लागि संघीय तथा प्रदेश सरकारको ध्यानाकर्षण गराउने अध्यक्ष मल्लले जानकारी दिनुभयो ।

Exit mobile version