Home मुख्य समाचार बागमती प्रदेश सरकारले ३० वटा विद्युतीय बस खरिद गर्ने

बागमती प्रदेश सरकारले ३० वटा विद्युतीय बस खरिद गर्ने

हेटौंडाः बागमती प्रदेश सरकारले ३० वटा विद्युतीय बस खरिद गर्ने भएको छ । बस खरिद गर्न बुधबार अन्तर्राष्ट्रियस्तरमा बोलपत्र आह्वान गरिएको हो ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत्को प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डमार्फत् बस खरिद प्रक्रिया अगाडि बढाएको हो । २० वटा ठूलो खालको बस र १० वटा लामो रुटमा सञ्चालन गर्न मिल्ने बससहित ३० वटा विद्युतीय बस खरिद गर्न बोलपत्र आह्वान गरिएको छ । यस्तै, विद्युतीय बसको चार्जिङ स्टेशनका लागि १५ वटा सवारी चार्जर खरिदका लागि पनि ४५ दिने बोलपत्र आह्वान भएको बोर्डका कार्यकारी उपनिर्देशक रवीन्द्र महर्जनले बताउनुभयो ।

प्रदेशको काठमाडौं, भरतपुर र हेटौंडामा विद्युतीय सवारी चार्ज गर्ने स्टेशन राख्ने तयारी भएको छ । साथै स्थानीय तहहरुसँग समन्वय गरेर चार्जिङ स्टेशन निर्माण कार्य अगाडि बढेको उपनिर्देशक महर्जनले जानकारी दिनुभयो । यसअघि प्रदेश यातायात सञ्चालन तथा व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक नहुँदा विद्युतीय सवारी खरिद प्रक्रिया अगाडि बढेको थिएन ।

बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाँलले प्रदेशको मुख्य शहरहरुमा विद्युतीय सवारी सञ्चालन गर्ने बताउनुभयो । उहाँले प्रदेशलाई हरित प्रदेश बनाउने भन्दै प्रदूषण कम गर्न पनि सरकारले विद्युतीय सवारीलाई प्राथमिकता दिने जनाउनुभयो । विद्युतीय बसहरु चालू आर्थिक वर्षबाटै सञ्चालनमा ल्याइने उहाँको भनाई छ ।

Exit mobile version