Home मुख्य समाचार इन्द्रसरोवरको आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा सुरु

इन्द्रसरोवरको आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा सुरु

हेटौंडाः मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको आवधिक योजना तथा मध्यकालीन खर्च संरचना तर्जुमा सुरु भएको छ । इन्द्रसरोवर गाउँपालिकाको आयोजना तथा गभर्नेन्स एण्ड डिजाइन सोलुशन नेपालको सहजीकरणमा चैत्र १४ गते शनिबार नगरकोटमा ३ दिने कार्यशाला सुरु भएको हो ।

कार्यक्रमको उद्घाटनमा गाउँपालिकाका उपाध्यक्ष तथा सभाध्यक्ष उमा कुमारी लामाले गाउँपालिकाको भविष्यको खाका कोर्न सम्बन्धित सबै सरोकारवालाहरुले विशेष महत्व र प्राथमिकता दिई सफल बनाउन जोड दिनुपर्ने बताउनुभयो । कार्यक्रमको उद्घाटन सत्रमा स्वागत मन्तव्य व्यक्त गर्दै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरण निधि तिवारीले कार्यशाला निक्कै नै महत्वपूर्ण र राज्यले निर्देशन दिएको कार्य भएकोले चौतर्फी आलोचनाको बाबजुद पनि कार्यक्रमलाई प्राथमिकता दिइएको बताउनुभयो ।

गाउँपालिकाको दस्तावेज निर्माणका लागि गाउँपालिका भित्रका जनप्रतिनिधि, राजनीतिज्ञ दलका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक, होटल, मत्स्य र डुंगा व्यवसायी संघका प्रतिनिधि, गाउँपालिकाका विभिन्न शाखाका प्रमुखहरु, बाल क्लबका प्रतिनिधि, सञ्चारकर्मी, लगायत गाउँपालिकाको विकाससँग सम्बन्धित सरोकारवाला नागरिक तथा कर्मचारीहरुको सहभागितामा विशेष महत्वका साथ कार्यशाला निर्माण सुरु भएको हो ।

कार्यशालाबाट गाउँपालिकाको पाश्र्वचित्र, आयव्यय, पालिकाको बस्तुगत विश्लेषण, दीर्घकालीन सोच निर्धारण, समष्टिगत लक्ष्य, विषयक्षेत्रगत उद्देश्य तथा रणनीति, उप–विषयक्षेत्रगत उद्देश्य, रणनीति, मुख्य कार्यक्रम, अपेक्षित लगानी अनुमान र पालिकास्तरीय गौरवका आयोजना निर्धारण लगायतका नजिता प्राप्ति हुने प्रशिक्षक बिके महर्जनले जानकारी दिनुभयो । आवधिक योजना निर्माणका लागि फागुन महिनाभर विभिन्न चरणमा तयारीका कार्यक्रम तथा गतिविधि सञ्चालन गरिएको थियो । कार्यशाला १७ गते विहानसम्म सञ्चालन हुने अयोजकले जनाएको छ ।

Exit mobile version