Home मुख्य समाचार वन्यजन्तुको ज्यान जोगाउन प्रशासनको ध्यान नपुगेको भन्दै विद्यार्थीद्वारा सडक अवरुद्ध

वन्यजन्तुको ज्यान जोगाउन प्रशासनको ध्यान नपुगेको भन्दै विद्यार्थीद्वारा सडक अवरुद्ध

मृत चित्तल सडकमै राखेर पूर्वंपश्चिम राजमार्ग अवरुद्ध गर्दै विद्यार्थीहरु ।

हेटौंडाः हेटौंडा–१० स्थित वनविज्ञान क्याम्पस परिसरमा वन्यजन्तुको ज्यान जोगाउन सरोकारवाला तथा स्थानीय प्रशासनको ध्यान नपुगेको भन्दै वन विज्ञान विषय अध्ययनरत विद्यार्थीले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । एक साताको अवधिमा दुई वटा चित्तलको मृत्यु भएपछि विद्यार्थीले आइतबार बिहान वनविज्ञान क्याम्पस अगाडि पूर्वपश्चिम राजमार्ग करिब आधा घण्टा अवरुद्ध गरेका हुन् । मृत भेटिएको चित्तल नै सडकमा राखेर विद्यार्थीले राजमार्ग अवरुद्ध गरेका थिए ।

मृत चित्तल सडकमै राखेर पूर्वंपश्चिम राजमार्ग अवरुद्ध गर्दै विद्यार्थीहरु ।

आइतबार बिहान वनविज्ञान क्याम्पसको शैक्षिक भवन भन्दा अगाडिपट्टी चित्तल मृत भेटिएको हो । यसअघि गत बिहीबार दिउँसो पनि कुकुरको आक्रमणमा परी एउटा चित्तलको मृत्यु भएको थियो । एक साताको बीचमा दुईवटा चित्तलको मृत्यु भएपछि विद्यार्थीहरु चिन्तित हुँदै स्थानीय प्रशासन र सरोकारवालाको ध्यानाकर्षण गराउन राजमार्ग अवरुद्ध गरेको विद्यार्थीको भनाइ छ । आइतबार बिहान मृत भेटिएको चित्तलको शरीरमा कुनै चोट छैन । मृत भेटिएको चित्तलको पोष्टमार्टमपछि मृत्युको कारण खुल्ने डिभिजन वन कार्यालय हेटौंडाका अधिकारीको भनाइ छ ।

स्थानीयका अनुसार चित्तलको आकर्षक बासस्थानको रुपमा रहेको वन विज्ञान क्याम्पस परिसरमा पूर्वपश्चिम राजमार्गतर्फ पक्की पर्खाल नहुनु, छाडा छाडिने कुकुरको संख्या उच्च रहनु र वन विज्ञान क्याम्पस परिसर सधै खुला रहनुले चित्तलको मृत्यु बढेको हो ।

Exit mobile version