Home मुख्य समाचार प्रहरी समायोजनपछि प्रदेश सरकारले प्रहरी दरबन्दी पुरा गर्नेः मुख्यमन्त्री डोरमणि पौडेल

प्रहरी समायोजनपछि प्रदेश सरकारले प्रहरी दरबन्दी पुरा गर्नेः मुख्यमन्त्री डोरमणि पौडेल

बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतको कार्यसम्पादन समिक्षा एवम् आगामी रणनीति निर्धारणा गोष्ठीलाई सम्बोधन गर्नुहुँदै बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल ।

हेटौंडाः बागमती प्रदेशको मुख्यमन्त्री डोरमणि पौडेलले प्रहरी समायोजन पश्चात अपूग जनशक्ति पूर्ति गर्ने बताउनुभएको छ ।

बागमती प्रदेशमा प्रहरीको दरबन्दी अनुसार जनशक्ति उपलब्ध नभएको भन्दै प्रहरी समायोजन पश्चात प्रदेश सरकारले नै दरबन्दी सिर्जना गर्ने मुख्यमन्त्री पौडेलले बताउनुभयो ।

यो वर्ष प्रहरी समायोजनको कार्य सकिने उहाँले बताउनुभयो । मंगलबार बागमती प्रदेश प्रहरी कार्यालय अन्तर्गतका कार्यालयहरुको कार्यसम्पादन समिक्षा एवम् आगामी रणनीति निर्धारण गोष्ठीलाई सम्बोधन गर्दै प्रहरी समायोजन पछि प्रदेश प्रहरीलाई नयाँ ढंगले सोच्न सकिने जनाउनुभयो ।

सीमित जनशक्ति र कम स्रोत र साधनका बाबजुत पनि प्रहरीले नागरिकलाई अनुभूति हुने गरी समायोजन नहुँदा पनि सेवा गरेको उहाँले भन्नुभयो ।

शान्तिसुरक्षा व्यवस्थित नभएमा देशमै समृद्धिको कल्पना गर्न नसक्ने मुख्यमन्त्री पौडेलले ठोकुवा गर्नुभयो । शान्तिसुरक्षा कायम गराउने संस्था कमजोर भएमा सुशासन पनि हुन्न । सुशासन हुन शान्तिसुरक्षा व्यवस्थित हुनुपर्ने भन्दै यसमा प्रदेश सरकार केही चुकेको उहाँले स्वीकार गर्नुभयो ।

सरकारका आफ्नै कारण तथा स्रोत साधनको अभावले गर्दा पनि यस्तो भएको उहाँले बताउनुभयो ।
प्रदेश सरकारको ३ वर्ष कानुन र भौतिक संरचना बनाउँदै बितेको भन्दै उहाँले स्थायी सरकार पनि फेल गराउने खेलहरु देशमा भइरकेको सुनाउनभयो ।

यस्तो अवस्थामा पनि प्रहरीले जनताले प्रत्यक्ष अनुभूति हुने गरी सेवा दिनुपर्नेमा मुख्यमन्त्री पौडेलले जोड दिनुभयो ।

Exit mobile version