Home कला साहित्य संगम मकवानपुरले १० जनालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने

साहित्य संगम मकवानपुरले १० जनालाई सम्मान तथा पुरस्कार प्रदान गर्ने

हेटौंडाः मकवानपुरकै अग्रणी साहित्यिक संस्था साहित्य संगम मकवानपुरले यसवर्ष साहित्य क्षेत्रमा क्रियाशील १० जना स्रष्टालाई प्रदान गर्ने सम्मान तथा पुरस्कार दिने निर्णय गरेको छ । संगमको शनिबार बसेको बैठकले १० वटा सम्मान तथा पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

साहित्य संगमले गोपालप्रसाद रिमाल स्मृति सम्मान कवि, नाटककार गोपाल पराजुलीलाई दिने निर्णय गरेको छ । काठमाडौं निवासी पराजुलीलाई संगमले २० हजार नगदसहित सम्मानपत्रले सम्मान गर्ने संगमका अध्यक्ष निमेष निखिलले जानकारी दिनुभएको छ । उहाँको ‘नयाँ इश्वरको घोषणा’ पुस्तकले मदन पुरस्कार प्राप्त गरिसकेको छ । यो सम्मान नाटकका, साहित्यकार गोपालप्रसाद रिमालको स्मृतिमा रिमालकै परिवारले स्थापना गरेको हो । यसअघि गोपालप्रसाद रिमाल स्मृति सम्मानबाट साहित्यकार नाटककार सरुभक्त, अशेष मल्ल, तुल्सी थापा सम्मानित भइसकेका छन् ।

डा. अरुण उप्रेतीलाई पारिजात स्मृति सम्मान प्रदान गर्ने निर्णय गरेको छ । हेटौंडा–१० स्थित आदर्श टोल विकास संस्थाले स्थापना गरेको सम्मानको राशी १५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ । साहित्यकार पारिजात निकट रही साहित्यमा सेवा पुर्‍याएवापत डा. उप्रेतीलाई यो सम्मान प्रदान गर्न लागिएको जनाइएको छ ।

मकवानपुर साहित्य श्री सम्मान अप्सरा तिम्सिना लम्साललाई प्रदान गरिने भएको छ । संगमले उहाँलाई मरणोपरान्त मकवानपुर साहित्य श्रीबाट सम्मानित गर्न लागेको हो । सम्मानपत्रसहित १५ हजार ५ सय ५५ रुपैयाँ प्रदान गर्न लागिएको हो । स्वर्गीय तिम्सिना साहित्य संगमको उपाध्यक्ष तथा आँचल साहित्य कला पुञ्ज मकवानपुरको संस्थापक उपाध्यक्ष र अध्यक्ष पदमा रहनु हुँदा निधन भएको हो । यो सम्मान साहित्य संगम मकवानपुरले स्थापना गरेको हो ।

भैरव स्मृति सम्मान वीरगञ्जका साहित्यकार व्यंग्यकार गणेश लाठलाई प्रदान गरिने भएको छ । उहाँलाई सम्मानपत्रसहित २१ हजार १ सय ११ रुपैयाँ राशीले सम्मान गर्ने अध्यक्ष निखिलले जानकारी दिनुभयो । व्यंग्यकार भैरव अर्यालको स्मृतिमा उहाँको परिवारले यो सम्मान स्थापना गरेको हो । यो सम्मानबाट धुर्मस सुन्तली फाउन्डेसन, राजकुमार लामिछाने, चट्याङ मास्टर, मनोज गजुरेललगायतका स्रष्टा सम्मानित भइसकेका छन् ।

यस्तै शुभद्रादेवि मदन मुडवरी स्मृति सम्मान साहित्यकार राम बर्तौला ‘आँशु’ लाई प्रदान गर्ने निर्णय भएको छ । मकवानपुरको पालुङ निवासी बर्तौलालाई नगद १० हजार राशीसहित सम्मानपत्र प्रदान गरिने जनाइएको छ । हाल अमेरिका निवास मकवानपुरे साहित्यकार दीपक मुडवरीले मातापिताको स्मृतिमा यो सम्मान स्थापना गरेकी हुन् ।

श्यामप्रसाद शर्मा स्मृति साहित्य सम्मान मकवानपुरे व्यंग्यकार आरसी रिजाललाई प्रदान गरिने भएको छ । मकवानपुरे साहित्यको संस्थागत विकासमा समेत टेवा पुर्‍याउँदै आउनुभएका रिजाललाई नगद १५ हजारसहित सम्मानपत्रले सम्मानित गर्ने संगमका सचिव डीबी बर्तौलाले जानकारी दिनुभयो । यो सम्मान हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ को कार्यालयले स्थापना गरेको हो ।

त्यसैगरी मंगलादेवि श्रेष्ठ स्मृति नारी सम्मान महाकाव्यकार मुना अर्याललाई प्रदान गरिने भएको छ । शिक्षा तथा साहित्यसेवी देव श्रेष्ठले आमाको नाममा स्थापना गर्नुभएको उक्त सम्मानको राशी ७ हजार ७ सय ७७ रुपैयाँ रहेको छ । यो यसवर्षबाट प्रदान गर्न लागिएको संगमले जनाएको छ ।

भेषनाथ अधिकारी स्मृति सम्मान साहित्यकार भुवनहरि सिग्देललाई प्रदान गरिने भएको छ । संगमका कार्यसमिति सदस्य विशाल अधिकारी ‘आशुतोष’ ले पिताको स्मृतिमा स्थापना गर्नुभएको यो सम्मान काठमाडौं निवासी सिग्देललाई नगद १५ हजार राशीसहित प्रदान गर्न लागिएको हो । यो सम्मानको राशी अघिल्ला वर्षमा १० हजार रुपैयाँ रहेको थियो यस वर्षबाट यसको राशी १५ हजार पुर्‍याइएको छ ।

यस्तै शेषजंग स्मृति कथा पुरस्कार चन्द्रोदय माविमा अध्ययनरत् छात्र उज्वल बराललाई प्रदान गर्ने निर्णय भएको छ । हेटौंडा– ८ मा रहेको चन्द्रोदय माविमा कक्षा १० मा अध्ययनरत् बराललाई २ हजार ५ सय राशीसहित यो पुरस्कार प्रदान गर्न लागिएको हो । शिक्षासेवी डेण्डीजंग शाहले छोराको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् । जिल्लाका माध्यमिक तहमा अध्ययनरत् विद्यार्थीबीच कथा लेखन प्रतियोगिता मार्फत् उत्कृष्ट एकजनालाई यो पुरस्कार प्रदान गर्ने गरिएको छ ।

णकुमारी साहित्य पुरस्कार प्रशन्ना चौलागाईंलाई प्रदान गरिने भएको छ । व्यंग्यकार आरसी रिजालले माताको स्मृतिमा स्थापना गरेको यो पुरस्कारको राशी ५ हजार रहेको छ । यो पुरस्कार जिल्लाका माध्यमिक विद्यालयमा अध्ययनरत् छात्राहरु बीच साहित्यका विभिन्न विधामा प्रतिस्पर्धा गराई उत्कृष्ट एकलाई प्रदान गरिँदै आएको छ ।

सम्मान तथा पुरस्कार २०७८ वैशाख ११ गते संगमको नियमित सन्ध्यामा आयोजना गरिने विशेष साहित्यिक कार्यक्रममा प्रदान गरिने उपाध्यक्ष अनिता न्यौपानेले जानकारी दिइन् । सम्मान तथा पुरस्कारहरु सम्बन्धित स्रष्टाको स्मृतिमा प्रदान गरिँदै आएकोमा कोरोना भाइरसको संक्रमणका कारण यसवर्ष एकपटक प्रदान गर्न लागिएको न्यौपानेले जानकारी दिनुभएको छ ।

Exit mobile version