Home मुख्य समाचार क्यान्सर रोग लागेका विपन्न नागरिकलाई प्रदेश सरकारको ५० हजार, १८ अस्पतालबाट सेवा...

क्यान्सर रोग लागेका विपन्न नागरिकलाई प्रदेश सरकारको ५० हजार, १८ अस्पतालबाट सेवा सुरु

हेटौंडाः बागमती प्रदेश सरकारले प्रदेशभित्रका नागरिकहरुलाई क्यान्सर रोगको उपचार गर्न थप ५० हजार रुपैयाँको सहुलियत उपचार सेवा दिएको छ । प्रदेश सरकारले १८ वटा निजी तथा सरकारी अस्पतालहरुबाट सो सेवा दिन सुरु गरेको हो ।

चालू आर्थिक वर्ष २०७७÷७८ मा ७ करोड ५० लाख बजेट विनियोजन गरेको प्रदेश सरकारले गत फागुन महिनाबाट सेवा दिन सुरुवात गरिएको प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. पुरुषोत्तराज सेढाईंले बताउनुभयो । संघीय सरकारले यसअघि क्यान्सर रोगको उपचार गर्न विपन्न नागरिकहरुलाई एक लाखसम्मको सहुलियत उपचार सेवा दिँदै आएको थियो ।

बागमती प्रदेश सरकारले संघीय सरकारले प्रदान गर्दै आएको १ लाखको सहुलियत उपचार सेवामा ५० हजार रुपैयाँ थप गरेको हो । बागमती प्रदेशका क्यान्सर रोग लागेका नागरिकले अब १ लाख ५० हजार रुपैयाँसम्मको सहुलियत उपचार सेवा पाउने भएका छन् ।

सामाजिक विकास मन्त्रलायले क्यान्सर रोगको उपाचार गर्न सूचीकृत गरेको १८ अस्पतालमध्ये ३ वटा अस्पतालहरुसँग सम्झौता हुन बाँकी भएको जनाएको छ । ललितपुरको बीएण्डबी अस्पताल, भरतपुरको नेशनल सिटी हस्पिटल र भरतपुर सेन्ट्रल हस्पिटलसँगको सम्झौता प्रक्रियामा रहेको छ ।

संघीय सरकारले दिँदै आएको सहुलियत उपचार सेवामा प्रदेश सरकारले दिएको ५० हजार रुपैयाँ थप हुने मन्त्रालयका प्रवक्ता सेढाईंले जानकारी दिनुभयो । बागमती प्रदेशको १३ जिल्लाका नागरिकले जुनसुकै क्यान्सर रोगको उपचार गर्न सो रकम बराबरको सहुलियत उपचार सेवा सूचीकृत १८ अस्पतालबाट लिन सक्नेछन् ।

Exit mobile version