Home मुख्य समाचार दुई दशकदेखि हेटौंडा–काठमाडौं चल्ने रोप–वे बन्द, रोप–वेको लोडिङ स्टेशनमा सवारी परीक्षण कार्यालय...

दुई दशकदेखि हेटौंडा–काठमाडौं चल्ने रोप–वे बन्द, रोप–वेको लोडिङ स्टेशनमा सवारी परीक्षण कार्यालय बन्ने

हेटौंडाः बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको रोप–वेको लोडिङ स्टेशन बन्द भएको दुई दशक भएको छ । विगत २ दशकभन्दा बढी समयदेखि बन्द भएको रोप–वेको खाली जमिनमा सवारी परीक्षण कार्यालय हेटौंडाको भौतिक संरचना निर्माण गरिने तयारी भइरहेको छ ।

हेटौंडा–१, चौकीटोलस्थित रोप–वेको खाली जमिनमा सवारी परीक्षण कार्यालयको भौतिक संरचना बनाइने प्रक्रिया अगाडि बढाइएको सवारी परीक्षण कार्यालका प्रमुख कृष्णकुमार यादवले जानकारी दिनुभयो । कार्यालयको भौतिक संरचनाको डीपीआर तयार गर्न कन्सल्टेन्ट नियुक्त गरिएको र अन्तिम रिपोर्ट अबको १ हप्ताभित्र प्राप्त हुने उहाँले बताउनुभयो ।

संघीय सरकारअन्तर्गत्को सवारी परीक्षण कार्र्यालय अहिले हेटौंडा–११ स्थित थानाभर्‍याङमा भाडाको घरमा सञ्चालित छ । मासिक ७१ हजार रुपैयाँ घरभाडा तिर्ने गरेको कार्यालय प्रमुख यादवले बताउनुभयो । हेटौंडा–१, चौकीटोलस्थित रोप–वेको ३२ कठ्ठा जग्गा हाल यातायात व्यवस्था विभागको नाममा रहेको छ । सञ्चालनमा रहँदासम्म ५२ कठ्ठा क्षेत्रफल रहेको रोप–वेको जग्गा अहिले ३२ कठ्ठामा सिमित भएको हो । रोप–वेको जमिनमा विभिन्न सरकारी कार्यालयका भवन निर्माण गरिएको छ ।

अहिले उक्त जमिनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय तथा बागमती प्रदेश सरकारको दुईवटा मन्त्रालयलगायतका केही कार्यालयहरु रहेका छन् । यातायात व्यवस्था विभागबाट ती कार्यालयहरुले आफ्नो मातहतमा जमिन ल्याएर भोगचलन गर्दै आएका छन् । वि.संं २०१४ सालमा रोप–वेमा सामान राखेर हेटौंडाबाट काठमाडौंसम्म ओसारिने गरिन्थ्यो । राणा प्रधानमन्त्री चन्द्रशमशेरले वि.सं १९८२ मा मकवानपुरको भीमफेदी नजिकको धोर्सिङबाट काठमाडौंको थानकोट नजिकको मातातीर्थसम्म २२ किलोमिटरमा रोप–वे लाइन बनाएका थिए । पछि धोर्सिङदेखि हेटौंडासम्म र मातातीर्थदेखि टेकु दोभानसम्म रोप–वेलाई लम्ब्याएर ४२ किलोमिटरमा सञ्चालन गरिएको थियो । काठमाडौंसँग सडक सम्पर्क नभएको अवस्थामा गाडीबाट हेटौंडा हुँदै भीमफेदी आइपुगेका सामानहरु मेसिनरी डिब्बामा लोड गर्ने र काठमाडौंसम्म लगिन्थ्यो ।

हेटौंडा–काठमाडौं रोप–वे वि.सं. २०५४ सालसम्म सञ्चालन भइरहेको थियो । तत्कालीन अवस्थामा हेटौंडा सिमेन्ट तथा हेटौंडा औद्योगिक क्षेत्रबाट उत्पादन भएका विभिन्न सामानलाई रोप–वेबाट काठमाडौं पठाइने गरिएको थियो । सडक यातायातको तुलनामा ढुवानी लागत निकै सस्तो पर्ने भएकाले हेटौंडाका अधिकांश उद्योगले रोप–वेबाट काठमाडौं सामान पठाउँथे । रोप–वेले सुरुवातमा प्रतिघण्टा ८ टन सामान बोक्थ्यो भने पछि विस्तार भएर हेटौंडासम्म पुर्‍याइएपछि प्रतिघण्टा २५ टन सामान बोक्न सक्थ्यो ।

हेटौंडाका अधिकांश स्थान र अन्य ठाउँमा रोप–वेमा लोड गरिएका सामानहरु हुकिङ गरेर चोरी हुने क्रम बढ्दै जाँदा र रोप–वेका भौतिक संरचना जीर्ण हुँदै गएका कारण रोप–वे सेवा बन्द हुन पुगेको हो । बन्द भएलगत्तैदेखि हेटौंडाको रोप–वेमा सुरक्षागार्डका रुपमा हालसम्म कार्यरत वीरबहादुर तामाङले अहिले रोप–वेको लोडिङ स्टेशनमा रहेका धेरै धेरै समानहरु पनि चोरी भैसकेको बताउनुभयो ।

हालसम्म पनि बन्द भएका दिनमा चलिरहेका डिब्बा जुन स्थानमा थिए, जहाँसम्म आइपुगेको थियो, त्यहि स्थानमा छ । रोव–वेको अधिकांश तार चोरी भइसकेको छ । रोप–वेमा ८ वटा टर्मिनल र ७ स्टेशन थियो भने कुल ३ सय ६० वटा डिब्बा सामान ओसार्न प्रयोग हुने गरेको थियो ।


सवारी परीक्षण कार्यालयले रोप–वेको जमिनमा रहेका सामग्रीको लगत संकलनको तयारी गरेको छ । रोप–वे बन्द भएका कारण त्यतिकै थन्किएका डिब्बा, तार, नटबोल्टु, सवारी साधनलगायत कवाडी सामानहरुको गणना गर्नका लागि भौतिक पूवार्धार मन्त्रालयसँग बजेट माग गरे पनि आइनसकेको कार्याल प्रमुख यादवले बताउनुभयो । रोप–वेको पुराना सामानहरुको अवस्था के कति छ भने कतैबाट तथ्यांक उपलब्ध हुन नसकेको उहाँले बताउनुभयो । यसअघि जिल्ला प्रशासन कार्यालय मकवानपुर, स्थानीय जनप्रतिनिध तथा सवारी परीक्षण कार्यालयका इन्जिनियरहरुले रोप–वेको बन्द स्टेशनको निरीक्षण गरिसकेका छन् ।

यसअघि रोप–वेको लोडिङ स्टेशन भएको स्थानमा हेटौंडादेखि काठमाडौंसम्म चल्ने संयुक्त सुमोे काउन्टर राखिएको थियो । हेटौंडा बजारमा भिडभाड नहुने तथा नागरिकले सहजरुपमा सेवा पाउने भनेर राखिएको काउन्टर प्रभावकारी ढंगले चल्न सकेन । अहिले बजारको मुख्य चोकहरुमा सुमो काउन्टर खुलिसकेको छ । यस्तै लागूऔषध प्रयोगकर्ताहरुको अखडा बनेको रोप–वेको लोडिङ स्टेशनमा प्रहरीले निगरानी बढाएपछि लागूऔषध प्रयोगकर्ताहरुको जमघट कम हुने गरेको छ ।

Exit mobile version