Home मुख्य समाचार विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाई सहमति नभए उपमहानगरले नै नियुक्त गर्ने

विद्यालय व्यवस्थापन समिति गठनमा ढिलाई सहमति नभए उपमहानगरले नै नियुक्त गर्ने

हेटौंडाः हेटौंडा उपमहानगरपालिकाका विभिन्न सामुदायिक विद्यालयको व्यवस्थापन समिति गठनमा ढिलाई भइरहेको छ । विद्यालय व्यवस्थापन समितिको अध्यक्ष चयनमा सहमति जुट्न नसक्दा व्यवस्थापन समिति गठनमा ढिलाई भइरहेको हो । हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले विद्यालय व्यवस्थापन समिति गठनमा भइरहेको ढिलाईप्रति उपमहानगरको शिक्षा विकास महाशाखाको ध्यानाकर्षण गराउनुभएको छ । नगरक्षेत्रका विद्यालयमा व्यवस्थापन समिति गठन गर्न भइरहेको ढिलाईप्रति ध्यानाकर्षण भएको जानकारी गराउनुहुहुँदै महाशाखा प्रमुख गंगाधर रिमाललाई मिति नै तोकेर व्यवस्थापन समिति गठन गर्न प्रधानाध्यापकलाई पत्राचार गर्न निर्देशन दिनुभएको हो । तोकिएको मितिभित्र समिति गठन नभए उपमहानगरपालिकाले नै अध्यक्षसहित समिति गठन गरिदिने जानकारी गराउन मेयर महतले महाशाखा प्रमुखलाई स्पष्ट निर्देशन दिनुभएको छ ।

तीन वर्षको कार्यकाल रहने विद्यालय व्यवस्थापन समितिका पदाधिकारी चयनका लागि सहमतिमा निर्णय गर्नुपर्ने व्यवस्थाका कारण सहजै व्यवस्थापन समिति चयन हुन नसकेको हो । कतिपय विद्यालयले अभिभावक भेला गराएर व्यवस्थापन समिति चयन प्रक्रिया सुरु गरेको भए पनि समितिले पूर्णता पाउन सकेको छैन । हेटौंडा उपमहानगरपालिका क्षेत्रमा रहेका ७७ वटा सामुदायिक विद्यालयमध्ये ३० वटा भन्दा बढी संख्यामा विद्यालयमा व्यवस्थापन समिति चयन भएको हेटौंडा उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जनाएको छ । महाशाखाले हेटौंडा उपमहानगरपालिकाको शिक्षा ऐनअनुसार विद्यालय व्यवस्थापन समिति गठन गराइरहेको भए पनि नगर क्षेत्रका ठूला तथा पुराना सामुदायिक विद्यालयमा लामो समयदेखि व्यवस्थापन समितिले पूर्णता पाउन सकेको छैन ।

हेटौंडा उपमहानगरपालिका–१ स्थित अमर मावि, हेटौंडा–२ स्थित सिद्धार्थ मावि, हेटौंडा–४ स्थित भूटनदेवी मावि, हेटौंडा–१९, बस्तीपुरस्थित निर्मल माविमा अभिभावक भेला सम्पन्न भए पनि व्यवस्थापन समितिले पूर्णता पाउन सकेको छैन । हेटौंडा–२ स्थित सिद्धार्थ माविमा दुईजना महिला सदस्य सिटमा तीन जनाको उम्मेदवारी परेको र थप दुईजना सदस्यका लागि सहमति हुन नसकेको प्रधानाध्यापक मोहनप्रसाद शर्माले जानकारी दिनुभएको छ । गत पुस २४ गते विद्यालयमा अभिभावक भेला भए पनि विद्यालय व्यवस्थापन समिति गठनमा भने सहमति हुन नसकेको उहाँको भनाइ छ ।

यस्तै हेटौंडा–४ स्थित भुटनदेवी माविमा पनि गत पुस २९ गते अभिभावक भेला भएर माघ महिनाको दोस्रो साता सदस्यहरु चयन गरिए पनि अध्यक्ष चयनमा भने सकस भइरहेको छ । अध्यक्ष चयनमा भइरहेको सकसले विद्यालयले शिक्षक नियुक्त गर्नेदेखि विद्यालयको अनुदानका कार्यक्रम सञ्चालनमा समस्या भइरहेको बताइएको छ । यता गत माघ ९ गते अभिभावक भेला गरेको निर्मल माविमा पनि अझै व्यवस्थापन समिति चयन हुन सकेको छैन । पुरुष २ जना चयन भए पनि २ जना महिला सदस्य भने चयन हुन नसकेको प्रधानाध्यापक प्रवोध विडारीले जानकारी दिनुभएको छ । दुईजना महिला सिटमा ४ जना आकांक्षी देखिएपछि समस्या भएको उहाँको भनाइ छ ।

विद्यालय व्यवस्थापन समिति गठन हुन नसक्दा शिक्षक नियुक्तिदेखि विद्यालयमा प्राप्त हुने अनुदान रकम एवम् कार्यक्रम कार्यान्वयनमा समस्या हुने गरेको छ । उपमहानगरपालिकाको शिक्षा ऐनमा ९ जनाको विद्यालय व्यवस्थापन समिति गठन गरिने व्यवस्था छ । विद्यालय व्यवस्थापन समितिमा अभिभावकमध्येबाट २ जना महिलासहित ४ जना चयन गर्नुपर्ने व्यवस्था गरिएको छ । विद्यालय रहेको वडाको वडा अध्यक्ष वा सदस्यमध्येबाट एक जना, विद्यालयको शिक्षक प्रतिनिधि एक जना र प्रधानाध्यापक एक जना गरी थप ३ जनासहित अभिभावकबाट चयन भएका ४ जनाको बैठकले स्थानीय शिक्षासेवी, विद्यालयको चन्दादाता तथा समाजसेवीमध्ये एक जना महिलासहित २ जनालाई व्यवस्थापन समितिमा मनोनित गर्ने व्यवस्था उपमहानगरको शिक्षा ऐनमा छ । ९ जनाको व्यवस्थापन समितिको बैठकले अभिभावकबाट चयन भएका वा मनोनित गरिएकामध्येबाट समितिको अध्यक्ष चयन गर्ने र विद्यालयका प्रधानाध्यापक सदस्यसचिव रहने व्यवस्था छ ।

Exit mobile version