उपाधिसाथ नेशनल इन्फोटेक कलेजको क्रिकेट टिम ।

हेटौँडाः जेसीआई हेटौँडाको आयोजनामा भएको स्व. अष्टकुमारी शाक्य स्मृति टी–२० क्रिकेट प्रतियोगिताको उपाधि पर्सा जिल्लाको बीरगन्जस्थित नेशनल इन्फोटेक कलेजले जितेको छ । हेटौँडा–४ स्थित हुप्रचौरमा मंगलबार भएको फाइनल खेलमा घरेलु टोली हेटौँडा–४ स्थित हेटौँडा स्कुल अफ म्यानेजमेन्टलाई ४ विकेटले हराउँदै बीरगन्जको नेशनल इन्फोटेक कलेजले उपाधि जितेको हो ।

टस जितेर पहिलो व्याटिङ गरेको म्यानेजमेन्टले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय २० रन बनाएको थियो । म्यानेजेमेन्टबाट युविन बुढाथोकीले सर्वाधिक ४९ रन जोड्न सफल भए । राजा अहमदले २५ रन र विशाल फुँयालले २२ रन जोडेको थियो । गौरव श्रेष्ठले ६ रन मात्र योग्दान दिए । बलिङतर्फ नेशनल इन्फोटेक कलेजका अरवाज अन्सारीले २ विकेट लिए । यस्तै सलमान अलि मनसुरी, एमडी सरिफ अन्सारी र अरवाज हुसेनले समान १–१ विकेट लिएका थिए ।

हेटौँडा स्कूल अफ म्यानेजमेन्टले दिएको १ सय २१ रनको लक्ष्य पछ्याएको नेशनल इन्फोटेक कलेजले १९ ओभर १ बलमा ६ विकेट गुमाउँदै लक्ष्य भेट्टायो । नेशनल इन्फोटेक कलेजबाट मनथन यादवले सर्वाधिक ४३ रनको योगदान गरे । एमडी सरिफ अन्सारीले २३ रनको योग्दान दिन सफल भए । राहुल महतोले १६ रन, नितेश चौधरीले १५ रन, सफवान अलिले ११ रन र रुहुलहक अन्सारीले ६ रन बनाएका थिए । बलिङतर्फ हेटौँडा स्कुल अफ म्यानेजमेन्टबाट गुड्डु यादवले सर्वाधिक ३ विकेट लिएका थिए । यस्तै विशाल फुँयालले २ विकेट लिएका थिए । पंकज उपाध्यायले १ विकेट लिए । म्यान अफ द म्याच मन्थन यादव घोषित भएका छन् ।

प्रतियोगिताको उपाधि विजेता नेशनल इन्फोटेकको टिमले ५० हजार रुपैयाँ र उपविजेता हेटौँडा स्कुल अफ म्यानेजमेन्टको टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडी घोषित हुँदै नेशनल इन्फोटेक कलेजका मनथन यादवले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । यस्तै प्रतियोगिताको उत्कृष्ट व्याट्सम्यान म्यानेजमेन्टका युविन बुढाथोकी र उत्कृष्ट बलर नारायणी कलेजबाट अस्मित कुमार मण्डल घोषित हुँदै ५–५ हजार रुपैयाँ प्राप्त गरेका छन् । हेटौंडा उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँले प्रदेश सरकारसँग सम्झौता गरेर खेलकुदको पूर्वाधार निर्माणका लागि पहल गर्ने बताउनुभयो ।