हेटौँडाः जिल्ला अदालत मकवानपुरको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । सोमबार एक कार्यक्रमका बीच प्रधान न्यायाधीश विश्वम्भर प्रसाद श्रेष्ठले भवनको उद्घाटन गर्नुभएको हो ।
भवनको उद्घाटन गर्नुहुँदै प्रधान न्यायाधीश श्रेष्ठले भौतिक पूर्वाधारको विकास भएसँगै सेवा प्रवाहमा समेत गुणस्तर अभिवृद्धि हुने विश्वास व्यक्त गर्नुभएको छ । नागरिकको न्यायपालिकाप्रतिको अपेक्षा भनेको स्वच्छ, निश्पक्ष, छिटो एवम् गुणस्तरीय न्याय सम्पादन नै भएको बताउनुहुँदै उहाँले यसप्रति सबै लाग्न आग्रह गर्नुभयो ।
भवन २३ करोड ७७ लाख रुपैयाँमा निर्माण सम्पन्न भएको हो । २०७७ माघ २१ गते भवन निर्माण सम्झौता भएको थियो । भवन गत साउनमै निर्माण सम्पन्न भएको थियो । नवनिर्मित भवनबाट माघ २८ गतेदेखि नै सेवा सुरु भएको थियो । ७१ कोठे भवनमा २ वटा लिफ्ट, ४८ वटा सिसि क्यामेरा, २४ थान एसी र २० वटा शौचालय रहेकोमा ५ वटा अपाङ्गमैत्री शौचालय रहेको छ ।
उच्च अदालत पाटन इजलासका मुख्य न्यायाधीश नृपध्वज निरौलाको सभाध्यक्षतामा भएको भवन उद्घाटन कार्यक्रममा बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौँडा उपमहानगरपालिकाकी प्रमुख मिना कुमारी लामा र जिल्ला अदालत मकवानपुरका मुख्य न्यायाधीश श्रीप्रसाद सञ्जेल लगायतको आतिथ्य रहेको थियो ।