वक्तृत्वकलामा प्रथम हुन सफल कुसुम खड्कालाई पुरस्कृत गरिँदै ।

हेटौँडाः पुष्पलाल स्मृति पुस्तकालय र साहित्य संगम मकवानपुरको आयोजनामा भएको वक्तृत्वकला प्रतियोगितामा जेनिथ इन्टरनेशनल सेकेन्डरी स्कुलकी छात्रा कुशुम खड्का प्रथम भएकी छिन् । शुक्रबार १६औं राष्ट्रिय पुस्तकालय दिवसको अवसरमा “पठन संस्कृति आजको आवश्यकता” विषयक् वक्तृत्वकला प्रतियोगितामा खड्का प्रथम हुन सफल भएकी हुन् ।

प्रतियोगितामा ज्ञानदीप शिक्षा निकेतन माध्यमिक विद्यालयकी प्रतिष्ठा कार्की द्वितीय, ब्रह्मदिक् एकेडेमीकी प्रियान्सु पोखरेल तृतीय र जनप्रिय माध्यमिक विद्यालयकी एरिना चौलागाई सान्त्वना हुन सफल भएका छन् । प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः २ हजार रुपैयाँ, एक हजार ५ सय रुपैयाँ, एक हजार रुपैयाँ र ५ सय रुपैयाँसहित प्रमाणपत्रले पुरस्कृत गरिएको छ ।

साहित्य संगम मकवानपुरकी अध्यक्ष अनिता न्यौपानेको सभाध्यक्ष तथा पुष्पलाल स्मृति पुस्तकालयका सल्लाहकार साहित्यकार आरसी रिजालको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । सोही अवसरमा नियमित पाठक निरञ्जन कुमार साहलाई सम्मानपत्र र पुस्तकले सम्मान गरिएको छ ।