हेटौँडाः खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले हेटौँडा बजारक्षेत्रमा अनुगमन सुरु गरेको छ । सरोकारवाला निकायसँगको सहकार्यमा गुण नियन्त्रण कार्यालयले आइतबारदेखि बजार अनुगमन सुरु गरेको जनाएको छ । अनुगमनको क्रममा सरसफाईमा अत्यधिक लापरवाही रही खाद्य पदार्थको अस्वस्थकर उत्पादन, भण्डारण र बिक्री वितरण भइरहेको पाइएको उल्लेख गर्दै हेटौँडा–१०, मेनरोडस्थित जय शम्भु मिष्ठान्न भण्डारमा सिल गरिएको छ ।
खाद्य अनुसन्धान अधिकृत प्रगति अधिकारीले आइतबार एक विज्ञप्ति जारी गर्दै जय शम्भु मिष्ठान्न भण्डारलाई अर्को सूचना नभएसम्म खाद्य पदार्थको उत्पादन तथा बिक्री रोक्का गरिएको जानकारी गराउनुभएको छ । अनुगमनका क्रममा हेटौँडा–१०, मेनरोडस्थित राजधानी स्वीट्स, न्यू स्वीट एण्ड चाट हाउस, हेटौँडा–१ स्थित श्रेष्ठ होटल, समोसा हाउस, युनिक स्वीट एण्ड चाट हाउस, हेटौँडा–२ स्थित लोकप्रिय भोजनालयमा सरसफाई तथा खाद्य पदार्थको भण्डारणमा कैफियतहरु देखिएकोले सुधारका लागि निर्देशन दिइएको पनि अनुसन्धान अधिकृत प्रकृति अधिकारीले विज्ञप्तिमा उल्लेख गर्नुभएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको संयोजनमा जिल्ला प्रशासन कार्यालय मकवानपुर, हेटौँडा उपमहानगरपालिका, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्तावादी संघ, संस्थाका प्रतिनिधि, मकवानपुर उद्योग वाणिज्य संघका प्रतिनिधिको समेत उपस्थितिमा बजार अनुगमन गरिएको हो ।