हेटौंडाः बैशाख कृष्णपक्षको औंसीलाई नेपाली हिन्दूहरुले मातातीर्थ औंसीको रुपमा मनाउने गर्दछन् । आफूलाई जन्मदिने आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर व्यक्त गर्दै यो पर्व आज बिहीबार मनाइँदैछ ।

मातातीर्थ औंसीलाई आमाको मुख हेर्ने दिनका रुपमा नेपाली संस्कृतिमा एउटा महत्वपूर्ण पर्वको रुपमा मनाउने गरिएको छ । आमाप्रति श्रद्धाभाव प्रकट गर्ने यो पर्वका दिन आमालाई कपडा, गहना उपहार दिई मिठाई, फलफूललगायत मिठा परिकारहरु खान दिएर आशीर्वाद लिने गरिन्छ । आफूलाई जन्मदिने आमासँगै गुरुआमा, सानीमा÷ठूलीआमा, सासूआमा र काकीहरुलाई पनि विभिन्न उपहार दिएर आशीर्वाद लिने प्रचलन छ ।

आमा नभएकाहरुले आमाको स्मरणमा तीर्थस्थलमा गएर तर्पण, पिण्डदान, श्राद्ध गर्ने गर्दछन् । यस पर्वका दिन विशेषगरी काठमाडौं उपत्यकामा रहेको मातातीर्थमा दिवंगत आमाको सम्झनामा श्राद्ध गर्ने र माताको मन्दिरमा दर्शन गर्नेको घुइँचो लाग्ने गर्दछ ।

पढाई, रोजगारी, व्यवसायका क्रममा आमाबाबुबाट टाढा रहेका सन्तानहरुका लागि यो पर्व थप विशेष बन्ने गरेको छ । विगतमा संयुक्त परिवारमा सबै मानिस सँगै बस्दा खासै महत्व नपाएको यो पर्वको महत्व अहिलेको एकल परिवार र व्यस्त समाजमा झनै बढेको छ । पछिल्लो समय सामाजिक सञ्जालको व्यापकताका कारण देखाउनकै लागि पनि यो पर्वमा आफ्ना आमालाई सम्मान गर्ने प्रचलन पनि बढ्दै गएको छ ।