सुत्केरीलाई आवश्यक पर्ने सामग्री हस्तान्तरण गर्दै ।

हेटौंडाः हेटौंडा-७, किरणचोक आमा समूहको आयोजनामा आइतबार सुत्केरी महिलाहरुलाई स्नेहमिलन कार्यक्रम गरिएको छ । आमा समूहको १३ औं स्थापना दिवसको अवसरमा आमा समूहसँग सम्बन्धित रहेकोले पहिलो दिन हेटौंडा अस्पतालमा रहेका सुत्केरी महिलाहरुलाई स्नेहमिलन कार्यक्रम गरिएको हो ।

कार्यक्रममा हेटौंडा अस्पतालमा रहेका २२ जना सुत्केरी आमाहरुलाई आवश्यक पर्ने प्याड, प्रोटिन पाउडर, डाइपर, बिस्कुट र स्याउ वितरण गरिएको छ । आमा समूहको स्थापना दिवसको अवसरमा दोस्रो दिन टोल सरसफाई कार्यक्रम र तेस्रो दिन दीप प्रज्जवलन गरेर कार्यक्रम समापन गरिने समूहकी अध्यक्ष सावित्री अधिकारीले जानकारी दिनुभएको छ । कार्यक्रम किरणचोक आमा समूहको अध्यक्ष सावित्री अधिकारीको सभाध्यक्षतामा भएको हो ।

देउसीभैलो कार्यक्रमको आयोजना गरेर संकलित रकमबाट आमा समूहले विविध कार्यक्रम गर्ने क्रममा सुत्केरी आमालाई कोसेली वितरण गरेको हो । यसअघि आमा समूहले सदस्यहरुको क्षमता विकास कार्यक्रमअन्तर्गत उद्घोषण तथा भाषण कलासम्बन्धी तालिमको आयोजना गरेको थियो । यस्तै अवलोकन भ्रमणको कार्यक्रम पनि आमा समूहले गरिसकेको छ ।