विद्यार्थीलाई छात्रवृत्ति वितरण गर्दै ।

हेटौंडाः मकवानपुरगढी गाउँपालिका–३ स्थित जागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेडले राष्ट्रिय बाल दिवसको अवसरमा बुधबार ५ जना बालबालिकालाई शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरेको छ । ५८ औं राष्ट्रिय बाल दिवसको अवसरमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरेको हो ।

मकवानपुरगढी–३ का रवि घतानी, मनोज गौतम, अभिषेक सञ्जेल र मकवानपुरगढी–४ का दीप पाख्रिन, रोजिता लम्साललाई शैक्षिक सामाग्री तथा छात्रवृत्ति वितरण गरिएको सहकारीकी व्यवस्थापक मेनुका दाहालले जानकारी दिनुभएको छ । विद्यार्थीलाई जनही ८ सय ५० रुपैयाँको शैक्षिक सामग्री, व्याग र २ हजार एक सय ५० रुपैयाँ नगद हस्तान्तरण गरिएको व्यवस्थापक दाहालले जानकारी दिनुभयो ।

छात्रवृत्ति पाएका विद्यार्थीहरु अभिभावकको साथमा ।

बाल शेयर सदस्यहरुलाई उक्त शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गरिएको हो । जागरण बचत तथा ऋण सहकारी संस्थाकी अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्ष तथा मकवानपुरगढी–३ का वडाध्यक्ष भागवत घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । कार्यक्रममा मकवानपुरगढी गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर घलान लगायतको उपस्थिति थियो ।