हेटौंडाः विद्यालय कर्मचारीको आन्दोलनप्रति नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति मकवानपुरले ऐक्यबद्धता जनाएको छ । शनिबार विज्ञप्ती जारी गर्दै शिक्षा ऐन २०२८ को १६ को ‘ठ’ बमोजिमको सेवा सुविधा र हक अधिकारका लागि सामुदायिक विद्यालयमा कार्यरत विद्यालय कर्मचारीहरुले भदौ १ गते बुधबारदेखि गरिएको आन्दोलनमा ऐक्यबद्वता जनाएको छ ।
नेपाल सरकार र आन्दोलनकारी बीचमा भएको सम्झौता कार्यान्वयन नहुनु, उच्चस्तरीय आयोगको प्रतिवेदनलाई सरकारले पूर्णरुपमा लागू नगरेको भन्दै आन्दोलन गर्नुपरेको बताएको छ । यस्तै शिक्षकहरुको समस्या सामाधानका लागि नेपाल सरकार र नेपाल शिक्षक महासंघबीच भएका वार्ता तथा सम्झौताहरुलाई सरकारले बेवास्ता गरेकाले आन्दोलन गरिएको बताएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्को आव्हानमा बुधबारदेखि विभिन्न मागहरु राखी विद्यालय कर्मचारीहरु शिक्षा तथा मानव श्रोत विकास केन्द्र सानोठिमी, भक्तपुरमा अनिश्चितकालिन धर्ना, तालाबन्दी गरेर आन्दोलन गरिरहेका छन् ।
जिल्ला समिति मकवानपुरले उक्त आन्दोलनात्मक कार्यक्रमको पूर्ण समर्थन गर्दै कर्मचारीहरुको मागप्रति ऐक्यबद्धता जनाएको उल्लेख गरेको छ । आन्दोलनबाट कति पनि बिचलित नभई माग पूरा गराउन विद्यालय कर्मचारीहरु एकजुट हुन आग्रह समेत गरिएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल र सचिव मुकुन्द न्यौपानेको संयुक्त हस्ताक्षरमा शनिबार प्रकाशित विज्ञप्तिमा कर्मचारीहरुको जायज माग पुरा गरी आ–आफ्नो काममा फर्कने वातावरण सृजना गर्न नेपाल सरकार तथा सम्बन्धित मन्त्रालयलाई विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।