सोनाम ल्होछारको अवसरमा बिदासम्बन्धी राक्सिराङ र बकैया गाउँपालिकाले सोमबार जारी गरेको सूचना ।

हेटौंडाः तामाङ समुदायको सोनाम ल्होछारको अवसरमा मकवानपुरको राक्सिराङ गाउँपालिका र बकैया गाउँपालिकाले पनि तीन दिन बिदा दिने निर्णय गरेको छ । सोमबार एक सूचना जारी गर्दै दुवै गाउँपालिकाले सोनाम ल्होछारको अवसरमा माघ १९, २० र २१ गते सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ ।

यसअघि मकवानपुरको बागमती गाउँपालिकाले पनि सोनाम ल्होछारको अवसरमा माघ १८, १९ र २० गते तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । तामाङ समुदाय बाहुल्य रहेको उल्लेख गर्दै राक्सिराङ गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । गाउँपालिकाले घोषणा गरेको सूचनामा सम्पूर्ण सरकारी कार्यालय, सार्वजनिक संघ, संस्था, बैंक तथा वित्तीय संस्था एवम् शिक्षण संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय गरेको उल्लेख छ ।

तीन दिन सार्वजनिक बिदाको समयमा पनि कोभिड–१९ विरुद्धको खोप अभियान तथा अन्य मियति खोप कार्यक्रमहरु बिदाको समयमा पनि सञ्चालन हुने जानकारी गराएको छ । यता बकैया गाउँपालिकाले भने गाउँपालिकाका अध्यक्षस्तरीय निर्णयबाट तीन दिन बिदा दिने निर्णय गरिएको जनाएको छ ।