शहीद स्मारकमा पुष्पगुच्छा अर्पण गर्नुहुँदै हेटौंडा–४ का वडा सदस्य जनरल श्रेष्ठ । फाइल तस्वीर ।

यौटा नौलो युग मुलुकमा आज आओस् भनेर ।
कोटी कोटी जन–जन बिषे सुख छाओस् भनेर ।।
नेपालीको सुखद क्षणको कल्पनामा रमेर ।
ल्याएका हुन् नवयुग यहाँ धेरै क्रान्ति गरेर ।।

वत्सराज कोइराला

कत्रो आशासित मुलुकमा क्रान्तिमा ज्यान फाल्यौ ।
नेपालैमा जनहित हुने तन्त्रको बीज रोप्यौ ।।
सामन्तीको खण्डहर पुर्‍यौ स्वच्छ यो प्रात ल्यायौ ।
नेपालीको प्रगतिपथमा एक बाटो बनायौ ।।

बढ्दै जाँदा विकृति सबमा सुख शान्ति हरायो ।
लोभी–पापी सबतिर बढी देश अन्धो बनायो ।।
उन्मादैमा मुलुकभरमा स्वार्थको छ्यालब्याल ।
यो धर्ती नै कलुषित बन्यो जिन्दगी भो कराल ।।

सत्तालिप्साबीच दिनदिनै भाँडभैलो गरेको ।
को होला त्यो जन–जनबिषे आज भ्रान्ति भरेको ।।
कुर्सीनिम्ति हरपल यहाँ द्वन्द गर्दै रहेको ।
नेपालीको सृजनपथमा हेर काँडा छरेको ।।

नेपाली हो गफ समयको टाप धेरै कटायौ ।
व्रम्हाण्डैमा विकल मनमा राष्ट्रमाता रुवायौ ।।
पुर्खाका ती वचन अधूरा बन्न थाले अफाप ।
आमाको त्यो हृदय नबुझे हेर लाग्ला सराप ।।