हेटौंडाः आफ्नो देहान्तपछि आँखाको नानी दान गर्न हेटौंडा सामुदायिक आँखा अस्पतालमा ९ सय २३ जनाले आफ्नो नाम दर्ता गराएका छन् । यस्तै आँखा अस्पतालले हालसम्म १८ जनाको आँखाको नानी संकलन गरिसकेको छ । विभिन्न समयमा निधन भएका व्यक्तिका परिवारको सहमतिमा आँखाको नानी संकलन गरिएको आँखा अस्पतालका अधिकारीले जानकारी दिएका छन् ।हेटौंडा सामुदायिक आँखा अस्पतालले २०७४ माघ ४ गतेदेखि आँखाको नानी संकलन गर्न सुरु गरेको हो ।

हेटौंडा सामुदायिक आँखा अस्पतालका आँखाको नानी संकलन केन्द्रका प्राविधिक अमेन्द्र विकका अनुसार पहिलो पटक हेटौंडा–४ का रामकृष्ण श्रेष्ठको आँखाको नानी संकलन गरिएको थियो । पछिल्लो पटक हेटौंडा–२ की सकुन्तला श्रेष्ठको आँखाको नानी संकलन गरिएकोे छ । संकलित आँखाको नानी काठमाडौंस्थित तिलगङ्गा आँखा अस्पतालमा पठाइने जनाएको छ ।

हेटौंडा सामुदायिक आँखा अस्पतालका कर्मचारी नारायण प्रसाद अधिकारीले पहिलो पटक आँखा दान गर्न सम्झौता गर्नु भएको थियो भने पछिल्लोे पटक चतुरमान घलानले आँखा दान गर्ने सम्झौता गर्नु भएको छ । संकलित एउटा आँखाको नानीले २ जनाको आँखाको ज्योति फर्काउन सक्ने स्वास्थ्यकर्मीको भनाइ छ । क्यान्सर, कोरोना जस्ता रोगको संक्रमणबाट मृत्यु भएका व्यक्तिको आँखाको नानी भने संकलन नगरिने प्राविधिक विकले बताउनु भयो ।अञ्जना तामाङ