Home मुख्य समाचार प्रसुति केन्द्रमै प्रसुति गराउनेको संख्यामा उल्लेख्य सुधार हुन सकेन

प्रसुति केन्द्रमै प्रसुति गराउनेको संख्यामा उल्लेख्य सुधार हुन सकेन

हेटौंडाः स्वास्थ्य कार्यालय मकवनपुरले स्वास्थ्यसम्बन्धी विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । विशेष अनुदान कार्यक्रमअन्तर्गत् प्रसुति केन्द्र सबलीकरण कार्यक्रम, मातृ तथा बाल स्वास्थ्य प्रवद्र्धन, सुरक्षित स्वास्थ्य भविष्य, किशोरकिशोरीको लक्ष्यलगायत कार्यक्रम सञ्चालन भैरहेको स्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिनुभयो ।

प्रसुति सबलीकरण कार्यक्रमअन्तर्गत् स्थापना भएको प्रसुति केन्द्रमा खटिएका स्वास्थ्य कर्मचारीलाई स्वास्थ्यसम्बन्धी तालिमको आयोजना गरी तालिम दिने, प्रसुति केन्द्रमा सोलार जडान गर्नेजस्ता कार्यक्रम सम्पन्न गरिएको घिमिरेले बताउनुभयो । प्रसुति केन्द्रमा महिलाहरु आकस्मिक (इमरजेन्सी) प्रसुति गराउन आउँदा विद्युत् लाइन नभएको बेलामा वैकल्पिक विद्युत् आपूर्तिका लागि सोलार जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

यस्तै, प्रसुति केन्द्रमा आवश्यक पर्ने औजार तथा उपकरण उपलब्ध गराउने गरेको उहाँले बताउनुभएको छ । मकवानपुरमा प्रसुति केन्द्रमा आएर प्रसुति गराउनेको संख्या पहिलाभन्दा बढ्दै गएको पनि घिमिरेले बताउनुभयो । अहिले धेरै प्रसुति केन्द्र स्थापना भइसकेको र सरकारी अस्पतालहरुले पनि प्रसुति गराउन आउनेलाई यातायात खर्चको व्यवस्था गरिदिएको भएपनि प्रसुति केन्द्रमा आएर प्रसुति गराउनेको संख्यामा उल्लेख्य सुधार नभएको घिमिरेको भनाई छ । प्रसुति केन्द्र स्थापना भएअनुसार घरमा प्रसुति गराउनेको संख्या शून्य हुनुपर्नेमा खासै सुधार हुन नसकेको उहाँले बताउनुभयो ।

सुधारका लागि स्वास्थ्य कार्यालय मकवानपुरले स्वास्थ्य शिक्षाको व्यवस्था मिलाई स्वास्थ्य कर्मचारीहरुलाई पनि स्वास्थ्य शिक्षाको बारेमा जनचेतना फैलाउन सक्ने गरी सक्षम बनाउने र महिलाहरुलाई प्रसुति गराउन केन्द्रसम्म आउन प्रोत्साहन गर्नेजस्ता कार्यक्रम गरिरहेको घिमिरेले जानकारी दिनुभयो । यस्तै, सुरक्षित स्वास्थ्य भविष्य किशोरकिशोरीको लक्ष्य कार्यक्रमअन्तर्गत् किशोरकिशोरीलाई स्वास्थ्य शिक्षाका बारेमा जानकारी गराउने र विद्यालय स्वास्थ्य कार्यक्रमअन्तर्गत् विद्यालयका शिक्षक तथा विद्यार्थीलाई स्वास्थ्य शिक्षाका बारेमा जानकारी गराउन लगाउने, कुनै विद्यालयमा शौचालय स्थापना नभएको अवस्थामा शौचालय निर्माण गर्न लगाउने तथा विद्यार्थीलाई स्वास्थ्य शिक्षासम्बन्धी जनचेतना फैलाउन विभिन्न विद्यालयमा ल्यापटप, प्राजेक्टर वितरण गरिएको उहाँले बताउनुभयो ।

विद्यार्थीले स्वास्थ्यसम्बन्धी शिक्षा सहज आर्जन गर्न सकुन् भन्ने उद्देश्यले र विद्यार्थीहरुले भिडियो हेर्न रुचाउने भएकाले भिडियोमार्फत् स्वास्थ्यसम्बन्धी विषयवस्तु र सचेतनामूलक कुराहरु फैलाउने काम गरिएको पनि सूचना अधिकारी घिमिरेले जानकारी दिनुभयो ।