हेटौंडाः मकवानपुरको भीमफेदी गाउँपालिकास्थित भीमफेदी कारागारका कैदीबन्दीहरुमा कोरोना पुष्टि भएसँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ९ सय ८० पुगेको छ । बुधबार र बिहीबार कारागारमा रहेका ९ सय ६९ जना कैदीहरुमा एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ सय ५५ जनामा कोेरोना संक्रमण पुष्टि भएसँगै कोरोनाको सक्रिय संक्रमितको संख्या ९ सय ८० जना पुगेको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।
भीमफेदी कारागारका संक्रमित कैदीबन्दीहरुसहित पछिल्लो २४ घण्टामा चार सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । एक हजार १५ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा तीन सय ६६ जनामा र १ सय ३० जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संख्या साउन १ गते यताकै सबैभन्दा उच्च हो ।
कोरोना पुष्टि हुनेमा सबैभन्दा बढी भीमफेदी गाउँपालिकाका तीन सय ६२ जना रहेका छन् । जसमध्ये ३ सय ५५ जना भीमफेदी कारागारका कैदीबन्दीहरुमा बुधबार र बिहीबार परीक्षण गर्दा संक्रमण पुष्टि भएको थियोे । हेटौंडा उपमहानगरपालिकाका ५७ जनामा, थाहा नगरपालिकाका १ जनामा, मकवानपुरगढी गाउँपालिकाका ३ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै, मनहरी गाउँपालिकाका ६ जनामा, बकैया गाउँपालिका २ जनामा र राक्सिराङ गाउँपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
योसँगै जिल्लामा कोरोना संक्रमण हुनेको कुल संख्या १३ हजार २ सय ६१ जना पुगेको छ । अहिले जिल्लामा ९ सय ८० जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ९ सय ३१ जना होम आइसोलसनमा र ४९ जनामात्रै संस्थागत आइसोलेसनमा रहेका छन् । पछिल्लो २४ घण्टामा ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । अहिलेसम्म जिल्लामा कोरोना संक्रमणमुक्त हुनेको कुल संख्या १२ हजार १ सय जना रहेका छन् । यसै अवधिमा कोरोना संक्रमणको कारण एकजनाले ज्यान गुमाएका छन् । कोरोना संक्रमणका कारण जिल्लामा १ सय ४२ जनाले ज्यान गुमाइसकेका छन् ।