Home मुख्य समाचार भर्चुअलबाटै प्रधानमन्त्री ओलीले गरे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम सुरुवातको...

भर्चुअलबाटै प्रधानमन्त्री ओलीले गरे मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक कार्यक्रम सुरुवातको घोषणा

हेटौंडाः मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशको चालू वर्षबाट शैक्षिक कार्यक्रम सुरु भएको छ । सोमबार जननेता मदन भण्डारीको ७० औं जन्मजयन्तीको अवसरमा प्रधानमन्त्री केपि शर्मा ओलीले भर्चुअल माध्यमबाट प्रतिष्ठानको शैक्षिक कार्यक्रम सुरु भएको घोषणा गर्नुभएको हो ।

मदन भण्डारीको ७० जन्मजयन्तीकै अवसरमा प्रतिष्ठानले शैक्षिक कार्यक्रम सुरुवात गरेकामा खुशी व्यक्त गर्दै प्रम ओलीले जननेता भण्डारीलाई स्मरण गर्नुभएको छ । जननेता मदन भण्डारीबाट हामीले थुप्रै कुरा सिक्नुपर्ने भन्दै देशभक्ति, लोकतान्त्रीक अभ्यास र आचरण, सुशासन, शान्ति र विकासको अवधारणाबाट देशलाई समृद्धि बनाउन सकिने बताउनुभयो । यही अवधारणअनुसार अघि बढ्दै समृद्ध नेपाल र सुखि नेपाली बनाउनमा जो जहाँ जुन विधा र विषयमा भएपनि त्यहि केन्द्रित भएर राष्ट्र निर्माणमा लाग्नुपर्ने उहाँले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले प्रतिष्ठानको शैक्षिक सत्र शुभारम्भ गर्दै आजको शिक्षा जीवनपयोगी, प्राविधिक शिक्षा र गुणस्तरीय शिक्षाको आवश्यक भएको बताउनुभयो । सरकारले शिक्षाको चौतर्फी क्षेत्रमा ध्यान दिएको बताउँदै प्रम ओलीले लर्निङ बाइ डुइङ जस्ता कामबाट व्यवहार, शिक्षा र अनुभव सिक्दै जानुपर्ने बताउनुभयो । हरेक तहको शिक्षामा प्रारम्भिक देखिनै गुणस्तरी शिक्षा विकास गरिनुपर्ने ओलीले धारणा व्यक्त गर्नुभयो ।

मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले छोटो अवधिमा आफ्नो क्रियाशिलता र सफलता प्रस्तुत गरेको भन्दै दक्ष जनशक्ति उत्पादन र जनतालाई भरपर्दो सेवा सर्व सुलभ ढंगले पु¥याउनुपर्ने ओलीले बताउनुभयो । प्रतिष्ठानले उत्पादन गरेका विद्यार्थी हरेक तहमा प्रतिस्पर्धी हुन सक्नेगरी अघि बढ्न उहाँले आग्रह गर्नुभएको छ ।

प्रतिष्ठानलाई चालू वर्षमा तीन वटा स्नातक तहको अध्यापन गराउन राष्ट्रिय चिकित्सा शिक्षा आयोगले ८० सिट निर्धारण गरेको छ । पहिलो वर्षमै प्रतिष्ठानले ८० सिट पाएको हो । पहिलो वर्षमा प्रतिष्ठानले जनस्वास्थ्यमा २०, फार्मेशीमा ३०, मेडिकल ल्याब टेक्नोलोजीमा ३० सिट पाएको प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईले बताउनुभयो ।

प्रतिष्ठानले शैक्षिक, अनुसन्धान र उपचार सेवा गरी तिन वटा सेक्टरमा काम गर्दै आएको छ । कार्यक्रममा मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान बागमती प्रदेशको एवं मुख्यमन्त्री डोरमणि पौडेल, प्रदेशका मन्त्रीहरु सरस्वती बस्नेत, कैलाश ढुंगेल, रामेश्वर फुयाँल, दावा दोर्जे लामा लगायतका उपस्थिति रहेको थियो ।