फाइल तस्बिर ।

हेटौंडाः हेटौंडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयमा दिवा खाजा कार्यक्रम सुरु भएको छ । गत फागुन १० गतेदेखि विद्यालयले इसीडीदेखि कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई खाजा खुवाउन थालेको हो ।

कक्षा ५ सम्म अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमा खाजा खुवाउन हेटौंडा उपमहानगरपालिकाले बजेट उपलब्ध गराउने भएपछि विद्यालयले क्यान्टिनमार्फत् खाजा खुवाउन थालेको विद्यालयका प्रधानाध्यापक वीरवंश बैठाले जानकारी दिनुभयो । संघीय सरकारले विद्यालयमा दिवा खाजा कार्यक्रमका लागि बजेट विनियोजन गरेबमोजिम हेटौंडा उपमहानगरपालिकाले विद्यालयहरुलाई प्रतिविद्यार्थी प्रतिदिन १५ रुपैयाँ उपलब्ध गराउने भएको छ ।

विद्यालयले विद्यार्थीलाई खाजा खुवाउन दैनिक खाजाको तालिका तयार पारेको छ । विद्यार्थीलाई आइतबार हलुवा, सोमबार चना चिउरा वा खिर तरकारी, मंगलबार मासु चिउरा, बुधबार बोडी तरकारी चिउरा, बिहीबार जेरी पाउराटी र शुक्रबार जाउलो खुवाउने गरेको प्रधानाध्यापक बैठाले बताउनुभयो । आज मंगलबार ५ सयजना विद्यार्थीलाई मासु चिउरा खाजा खुवाइएको छ ।