हेटौंडाः जेसीआई हेटौंडा लेडीको वर्ष २०२१ को अध्यक्षमा प्रतिमा श्रेष्ठ निर्वाचित हुनुभएको छ । आइतबार सम्पन्न निर्वाचन कार्यक्रमबाट सर्वसम्मत रुपमा प्रतिमा अध्यक्ष निर्वाचित हुनुभएको हो । यस्तै निर्वाचन कार्यक्रमबाट कार्यकारिणी उपाध्यक्षमा कविता पौडेल र दिलमाया घर्ती निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा अस्मिता न्यौपाने, ज्योति काफ्ले, सुनिता राई र शिखा भट्टराई निर्वाचित हुनुभएको छ ।
जेसीआई हेटौंडा लेडीको वर्ष २०१२ की अध्यक्ष एवम् वर्तमान समितिमा कानुनी सल्लाहकार समेत रहनुभएकी निर्वाचन आयुक्त रश्मि बस्नेतले सर्वसम्मत निर्वाचित समितिको नाम घोषणा गर्नुभएको हो । निर्वाचन आयुक्त रश्मि बस्नेतका अनुसार अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष र उपाध्यक्षमा आवश्यक संख्याअनुसार नै उम्मेद्वारी परेसँगै सर्वसम्मत निर्वाचित भएको हो ।
८९ जना साधारण सदस्य रहेको जेसीआई हेटौंडा लेडीको साधारणसभाको उद्घाटन कार्यक्रम शनिबार भएको थियो । वार्षिक साधारणसभा तथा निर्वाचन कार्यक्रममा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्नुहुँदै वर्ष २०२० की अध्यक्ष सुशीला पौडेलले नवनिर्वाचित समितिलाई शुभकामना व्यक्त गर्नुभएको छ ।
नेतृत्व एवम् व्यक्तित्व विकासका लागि जेसीजमा आवद्ध युवा महिलाहरुले समुदायमा उदाहरणीय कार्य गर्ने विश्वास समेत व्यक्त गर्नुहुँदै नवनिर्वाचित समितिलाई पूर्वअध्यक्षहरुको साथ र सहयोगमा अगाडि बढ्न पनि पौडेलले आग्रह गर्नुभएको छ ।