हेटौँडा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा नयाँ नेतृत्व चयन गरेको छ । बिहीबार सम्पन्न अधिवेशनबाट दुवै स्थानीय तहमा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो । थाहा नगर समितिको सभापतिमा जयराम केसी निर्विरोध चयन हुनुभएको छ भने इन्द्रसरोवर गाउँपालिका समितिको सभापतिमा मानकाजी लामा निर्विरोध निर्वाचित हुनुभएको छ ।
रास्वपाको प्रथम थाहा नगर अधिवेशनबाट जयराम केसी दोस्रो कार्यकालका लागि नगर सभापतिमा चयन हुनुभएको हो । नगर समितिको उपसभापतिमा साकार कार्की, सचिवमा रामशरण गोपाली र सहसचिवमा राजन विडारी चयन हुनुभएको छ । सदस्यहरूमा शुक्रराज गोपाली, बुनुमैयाँ थिङ, सानुमैयाँ अधिकारी, विजयकुमार थिङ, माइला गुरुङ, सुवास केसी र कपिल थापा चयन हुनुभएको छ ।
त्यस्तै नगर समितिको सल्लाहकारमा दिपक नेपाली र विकेशबाबु बस्नेत चयन हुनुभएको छ भने र्याट संयोजकमा सुमन विष्ट चयन हुनुभएको छ । अधिवेशनबाट चयन भएका सबै पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएको रास्वपा मकवानपुरकी संगठन विभाग प्रमुख शान्ति थापा विडारीले बताउनुभयो । थाहा नगर अधिवेशनमा रास्वपा बागमती प्रदेश सभापति अच्युत लामिछाने प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो । कार्यक्रममा प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेती, मकवानपुर क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रकाश गौतम तथा प्रतिनिधिसभा सदस्य खगेन्द्र विश्वकर्माको समेत उपस्थिति रहेको थियो ।
उता, इन्द्रसरोवर गाउँपालिका समितिको अधिवेशनबाट सभापतिमा मानकाजी लामा चयन हुनुभएको छ । उपसभापतिमा विष्णु महर्जन, सचिवमा विनोदप्रसाद सुवेदी, सहसचिवमा पुकार योन्जन र कोषाध्यक्षमा नारायण सिन्तान चयन हुनुभएको छ । सदस्यहरूमा सबिना भर्तौला, शुशभ परियार, उमेश घिसिङ र गरिमा स्याङ्तान निर्वाचित हुनुभएको छ । गाउँपालिका समितिमा ११ सदस्यीय कार्यसमिति गठन गर्ने क्रममा अधिवेशनबाट सभापतिसहित नौ जना निर्वाचित भएपछि बाँकी दुई सदस्यलाई सभापतिले मनोनयन गर्नुभएको निर्वाचित गाउँपालिका सचिव विनोदप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार इन्द्रसरोवर गाउँपालिका समिति सर्वसम्मत रूपमा चयन गरिएको हो ।
इन्द्रसरोवर गाउँपालिका समितिमा र्याट संयोजकको जिम्मेवारी सन्तोष क्षेत्रीलाई दिइएको छ भने खेलकुद विभागको जिम्मेवारी वीरबहादुर लामालाई दिइएको गाउँपालिका सचिव सुवेदीले बताउनुभयो । त्यस्तै समितिको सल्लाहकारमा धनराज महर्जन र अर्जुन रेग्मी चयन हुनुभएको उहाँले जानकारी दिनुभयो । इन्द्रसरोवर गाउँपालिका अधिवेशन प्रतिनिधिसभा सदस्य प्रशान्त उप्रेतीको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
