Home मुख्य समाचार लक्ष्य पूरा गर्नु हाम्रो दायित्व हो : अध्यक्ष मुक्तान

लक्ष्य पूरा गर्नु हाम्रो दायित्व हो : अध्यक्ष मुक्तान

वार्षिक समीक्षालाई सम्बोधन गर्नुहुँदै गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तान ।

हेटौँडा : स्थानीय सरकारले लिएको लक्ष्य पूरा गर्नु हामी सबैको दायित्व भएको कैलाश गाउँपालिकाका अध्यक्ष लोकबहादुर मुक्तानले बताउनुभएको छ । बिहीबार गाउँपालिकामा स्वास्थ्य शाखाको आर्थिक वर्ष २०८१/०८२ मा सम्पादित स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षालाई सम्बोधन गर्नुहुँदै उहाँले सरकारको लक्ष्य पूरा गर्न कर्मचारी र जनप्रतिनिधिहरुको दायित्व भएको बताउनुभएको हो ।

उहाँले स्वास्थ्यको सेवा प्रवाहमा ध्यान दिन वडा तहका प्रमुखहरुलाई आग्रह गर्नुभयो । गाउँपालिकाले स्वास्थ्य र शिक्षा क्षेत्रलाई ध्यानमा राखेर काम गरिरहेको अवस्थामा वडा तहकै स्वास्थ्य चौकीको कामको तथ्याङ्क चुस्त दुरुस्त राख्न अध्यक्ष मुक्तानले निर्देशन दिनुभयो । तथ्याङ्क तल–माथि भएको खण्डमा समस्या रहने र त्यसले ठूलो प्रभाव पर्न सक्ने उहाँको भनाइ छ । गाउँपालिकामा स्वास्थ्यको कामले वित्तीय समानीकरण अनुदान वृद्धि भएको बताउनुहुँदै अध्यक्ष मुक्तानले गत वर्षझैँ चालु आवमा पनि सोही अनुरुप सेवा प्रवाह गर्न सबैलाई आग्रह गर्नुभयो । ‘हाम्रो लक्ष्य धेरै छन्, जसमा सुत्केरी पोषण कार्यक्रम, होम डेलिभरीलाई शुन्य बनाउने, बालबालिकाका स्वास्थ्य कार्यक्रम, जेष्ठ नागरिक लगायत विविध कार्यक्रम छन् त्यसलाई मध्येनजर गर्दै कार्य सम्पादन गरिनुपर्छ’, अध्यक्ष मुक्तानले भन्नुभयो ।

गाउँपालिकाले स्वास्थ्य र शिक्षाको क्षेत्रमा विभिन्न गैरसरकारी संस्थाहरुसँगको साझेदारीमा काम गर्दै आइरहेको छ । त्यो सँगै खानेपानी, उद्यम विकास, सीपमूलक तालिम पनि गर्दै आइरहेको उहाँले बताउनुभयो । १० शैय्याको अस्पताल सञ्चालनको अन्तिम चरणमा रहेको अध्यक्ष मुक्तानले बताउनुभयो । समीक्षा कार्यक्रममा १० वटै वडाले कार्यसम्पादन गरेको कार्यहरु प्रस्तुत गरिएको थियो । कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र शिवाकोटी, जिल्ला जनस्वास्थ्य अधिकृत समर्पण अधिकारी, जनस्वास्थ्य निरीक्षक बासुदेव रिमाल, गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकप्रसाद गौतम लगायतको आतिथ्य रहेको थियो । दुई दिन सञ्चालित समीक्षा कार्यक्रम शुक्रबार सकिनेछ । कार्यक्रममा गाउँपालिकामा स्वास्थ्य र शिक्षा क्षेत्रमा काम गर्ने विभिन्न गैर सरकारी संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रहेको थियो ।

Exit mobile version