हेटौँडा : हेटौँडा–४ स्थित भूटनदेवी माध्यमिक विद्यालय (प्राविधिक शिक्षालय) मा वर्षे विदाको समयमा पनि पठनपाठन जारी छ । विद्यालयमा साउन ४ गतेदेखि १३ गतेसम्म पहिलो त्रैमासिक परीक्षा सञ्चालन भएको थियो । परीक्षा सके लगतै वर्षे विदा शुरु भएको छ । कक्षा १ देखि ९ सम्मको विदा भएपनि कक्षा १०, ११ र १२ को नियमित कक्षाहरु सञ्चालन भइरहेको छ ।
कक्षा १० मा अध्ययनरत रिमा साह र सुमित यादवकाअनुसार शिक्षकहरुले कमजोर विद्यार्थीलाई ध्यानमा राखेर पढाउनु हुन्छ । मधेशदेखि विद्यालय शिक्षाकै लागि भनेर हेटौँडा आउनुभएकी रिमा र सुमितलाई कहिले पनि मधेशबाहिरको विद्यालयमा पढिरहेको महशुस हुन नसकेको बताउनुहुन्छ । विद्यालयमा बेला बेलामा विद्यार्थीहरु बीच सामूहिक कार्य गराउनु प्रभावकारी हुने विद्यार्थीको प्रतिक्रिया छ । कमजोर विद्यार्थीका लागि अतिरिक्त कक्षाको पनि व्यवस्था छ । बेला बेलामा सीप विकास तथा उद्यमशील कार्यक्रमहरु सञ्चालन हुने गरेको छ । अतिरिक्त क्रियाकलाप तथा पढाईमा उत्कृष्ट नतिजा ल्याउनेहरु पुरस्कृत हुने गरेको पनि उनीहरुको भनाइ छ । विगतमा खानेपानीको समस्या रहेपनि वर्तमान समयमा समस्या नरहेको विद्यार्थीहरुको भनाइ छ ।
विद्यालयमा अहिले २ हजार ३ सय जना विद्यार्थीहरु अध्ययनरत छन् । त्यसैगरी ७२ शिक्षक, शिक्षिका तथा कर्मचारीहरु रहेका छन् भने १० जना पार्ट टाइम शिक्षक पनि रहेका छन् । असार महिनादेखि कक्षा १० का लागि नियमित कक्षासँगै कोचिङ् पनि सुरु भएको सुवेदी जानकारी दिनुभयो । बाँकी कक्षाहरु भदौ १ गतेदेखि पहिलाकै समयमा पूर्णरुपमा सञ्चालन हुनेछ ।
